काठमाण्डौ। काठमाण्डौको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा यही चैत १० गतेदेखि चैत १२ गतेसम्म एसडी प्रोमो मिडियाले पाँचौँ नेपाल मेडिकल, हेल्थ केयर सप्लाई चेन शो, नेपाल ल्याब एक्सपो, नेपाल फार्म्यक एक्सपो आयोजना गर्दैछ। 

EEPC India (Engineering Export Promotion Council) र CHEMSAN (Chemical & Medical Suppliers Association of Nepal)  को सह–आयोजनामा सञ्चालन हुन लागेको यो एक्सपो अस्पताल, मेडिकल र प्रयोगशालाको क्षेत्रमा नेपालको एकमात्र बृहत कार्यक्रम हुनेछ। यस कार्यक्रमलाई सफल बनाउन नेपालका विभिन्न स्वास्थ्य संस्था, औषधी उद्योग, प्रयोगशाला र मेडिकलहरूको साथ र सहयोगले प्रमुख भूमिका खेल्नेछ। 

सन् २०२० मा नै आयोजना हुने भनिएको यो एक्सपो कोरोना महामारीको कारण अहिलेको मितिमा सरेको हो। यो एक्सपोले नेपालको स्वास्थ्य संस्था र प्रयोगशालाहरूलाई अहिलेको उन्नत अवसरहरू प्रदान गर्दै उनिहरूको सम्पूर्ण आवश्यकताहरू पूरा गर्ने कुरामा आयोजकहरू विश्वस्त छन्। आयोजकको मुख्य उद्देश्य भनेको यहाँको स्वास्थ्य संस्था, प्रयोगशाला र औषधी उद्योगलाई आवश्यक पर्ने साथ र सहयोग प्रदान गर्दै अहिलेको अवस्थामा अग्रपंतिमा रहेर उद्योग सञ्चालन गराउनु हो। 

तीनदिने एक्सपोले विभिन्न देशका २५० भन्दा धेरै कम्पनि र ५०० भन्दा धेरै ब्रान्डसहित बिजिनेस लिडरहरु, डाक्टरहरु, वैज्ञानिकहरु, रोग विशेषज्ञहरु, अनुसन्धानकर्ताहरु, सरकारी अधिकारीहरु, नीति निर्माताहरु र उद्योगीहरुलाई एकसाथ समेट्नेछ। 

यो एक्सपोले नयाँ आविष्कारहरू र नयाँ बजारको खोजी गर्दै नेपालको चिकित्सा र प्रयोगशाला उद्योगलाई आवश्यक उचाइमा लिएर जानेछ भन्ने कुरामा आयोजक विश्वस्त छन्। यस एक्सपोमा सहभागिता जनाउने आगन्तुकहरुका लागि हालको अत्याधुनिक प्रयोगहरू मुख्य आकर्षण बन्नेछ।