काठमाण्डौ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले देशैभरि वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरी ‘ग्लोबल मनी विक–२०२२’ मनाएको छ।

बैंकले देशका सम्पूर्ण व्यक्तिहरुमा वित्तीय सेवाको पहँुच पुर्याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। ग्लोबल मनी विक–२०२२ को थिम ‘बिल्ड योर फ्युचर, बी स्मार्ट अवाउट मनी’ र ग्लोबल मनी विकको स्थायी नारा ‘लर्न सेभ अर्न’ लाई सार्थक बनाउने प्रयासस्वरुप बैंकले वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ। 

बैंकका सातवटै प्रदेशअन्तर्गतका शाखाहरुले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत समाजका विभिन्न वर्गका व्यक्तिहरु लाभान्वित हुने गरी विभिन्न प्रकृतिका वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ। बागमती प्रदेश अन्तर्गत १७, लुम्बिनी प्रदेशअन्तर्गत २५, प्रदेश नं १ अन्तर्गत २३, मधेश प्रदेशअन्तर्गत १९, सुदूरपश्चिम र कर्णाली प्रदेशअन्तर्गत ३ वटा शाखाहरुमा गरी कुल ८७ वटा स्थानमा उक्त कार्यक्रमहरु सञ्चालन गरिएको र ती कार्यक्रममा करिब ५ हजार सहभागी रहेका थिए।  

नेपाल बैंकले यस आर्थिक वर्षको योजना तथा कार्यक्रममा नै वित्तीय साक्षरतालाई बिशेष जोड दिएको र सोहीअनुरुप वित्तीय साक्षरता अभियान यो वर्षभरि नै सञ्चालन हुने बैंकले जनाएको छ। हालसम्म बैंकले आफ्ना १६० शाखाबाट करिब १५ हजार सहभागीलाई वित्तीय साक्षरता प्रदान गरिसकेको छ।