काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आज चैत २५ गतेबाट गत आर्थिक वर्षको नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिने भएको छ। 

नेपाल टेलिकमले चैत २४ गते सम्पन्न १४ औँ वार्षिक साधारणसभा गत आर्थिक वर्षका लागि प्रस्तावित २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश पारित गरेको छ। उक्त नगद लाभांश आज चैत २५ गतेबाट सेयरधनीहरुको बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ। 

बुक क्लोज हुनुअघिसम्म कायम रहेका सेयरधनीहरुको हितग्राही खातामा उल्लेखित बैंक खाता अद्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सोही खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ। 

हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि नेपाल टेलिकमको सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफूलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोल्नु भई आफ्नो सेयर यथाशक्य छिटो अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गर्नु भएपश्चात सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाइने कम्पनीले जनाएको छ।

आफ्नो सेयर अभौतिकीकरण गराइसकेका तर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएमा निजीहरुको नगद लाभांश सोही खातामा क्रमानुसार जम्मा गर्ने व्यवस्था गरिने कम्पनीले जनाएको छ। 

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ।