काठमाण्डौ । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ।

गत चैत २९ गते इटहरीमा आयोजित एक समारोहबीच सम्झौतापत्रमा  विश्वविद्यालयका तर्फबाट रजिस्ट्रार नीलमणि पोख्रेल र  नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम नेपाल बैंकले पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत कर्मचारी एव विद्यार्थीलाई आधुनिक एवं सहुलियतपूर्ण बैंकिङ सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ। 

बैंकले विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीको तलबी खातामा बैंकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने, निःशुल्क डिजिटल बैंकिङ सुविधाहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा  छुट प्रदान गरिने, विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने, निःशुल्क डेबिट–क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने र विश्वविद्यालयको आवश्यकताअनुसार थप बैंकिङ सेवा सुविधा उपलब्ध गराउनेछ। 

सम्झौता हस्ताक्षर कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाले समयसँगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसँग पूर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने उल्लेख गरे। उनले भविष्यमा विश्वविद्यालय र बैंकबीचको यो सम्बन्ध थप सुदृठ हुँदै जाने विश्वास व्यक्त गरे। 

रजिस्ट्रार पोख्रेलले नेपाल बैंक पहिलो र भरपर्दो भएको साथै यसले आफ्नो सेवा प्रवाहमा व्यापक सुधार गरेको देखिएकोले सम्झौतापत्रमा हस्ताक्षर गरिएको बताए। उनले विश्वविद्यालय र बैंकलाई अझ व्यावसायिक उचाइमा कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा आफूहरुको जोड रहने उल्लेख गरे। 

बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले वित्तीय कारोबारका लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालयप्रति आभार व्यक्त गरे। नेपाल बैंक समयसँगै गतिशिल बन्दै गइरहेको र आमनेपालीको साझा बैंक भएको उल्लेख गर्दै उनले नेपाल बैंकका ऊर्जाशील कर्मचारी र व्यवस्थापनको अथक मेहनत र परिश्रमले गर्दा यो बैंक प्रगतिपथमा लम्किरहेको र सम्पूर्ण ग्राहकलाई अझै उत्कृष्ट स्तरको वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गरे। 

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका योजना प्रमुख डा कोमल प्रसाद दुलाल, विश्वविद्यालयका अनुसन्धान निर्देशक प्राडा निनराज ढकाल, पाठ्यक्रम विकास केन्द्र प्रमुख प्राडा मेदनीप्रसाद शर्मालगायत विश्वविद्यालयका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो।

कार्यक्रममा नेपाल बैंक १ नं. प्रदेश कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट, प्रधान कार्यालय बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेललगायत मोरङ र सुनसरी जिल्लामा रहेका नेपाल बैंकका विभिन्न शाखाका शाखा प्रबन्धकका साथै कर्मचारीको पनि उपस्थिति थियो।