काठमाण्डौ । मर्जर प्रयोजनका लागि लामो समयदेखि रोक्का राखिएको नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार फुकुवा गरिएको छ। 

हिमालयन बैंकको मर्जर प्रक्रियाका लागि नेप्सेमा यी दुवै बैंकको सेयर झन्डै १ वर्ष लामो समयदेखि सेयर कारोबार रोक्का गरिएको थियो। यी दुवै बैंकबीच २०७८ वैशाख २० गते मर्जर सम्झौता भएको थियो। तर, लामो समयपछि यी दुवै बैंकबीचको मर्जर सम्झौता भाँडिएको थियो। 

लामो समयदेखि सेयर कारोबार रोक्का रहेपछि नेपाल इन्भेस्टमेन्ट बैंकले सेयर कारोबार खुलाउन नियामक निकायसँग पहल गरेको छ। बैंकको आग्रहमा नेपाल राष्ट्र बैंकले नेप्सेलाई इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार फुकुवा गर्न निर्देशन दिएको थियो। 

हाललाई राष्ट्र बैंकको निर्देशमा नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंकका आधारभूत सेयरधनीहरुबाहेकका सेयर कारोबार फुकुवा गरेको छ। 

कम्पनी ऐन, २०६३ को दफा ५० को उपदफा (१) बमोजिमका आधारभूत सेयरधनीहरुबाहेकका सेयरधनीहरुको धितोपत्र कारोबार आज जेठ १६ गतेदेखि लागू हुने गरी फुकुवा गरिएको नेप्सेले जनाएको छ।