काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायबाट ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट ४ करोड ४७ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ४५ करोड ४३ लाख रुपैयाँ र जीवन व्यवसायबाट ८ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिमा कम्पनीको निर्जीवन र जीवन दुवै व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ। यो अवधिमा निर्जीवनतर्फ ५ करोड रुपैयाँ र जीवनतर्फ ८१ लाख ७७ हजार रुपैयाँ व्यवस्थापन खर्च भएको छ। गत वर्ष यही अवधिमा यस्तो खर्च क्रमशः २ करोड ९५ लाख रुपैयाँ र ३१ लाख २८ हजार रुपैयाँमात्रै थियो। 

दोस्रो त्रैमासमा यो कम्पनीको आयव्यय सारिएको हिसाबबाट निर्जीवन व्यवसायतर्फ ५ करोड ३५ लाख रुपैयाँ नाफा भएको छ भने जीवन व्यवसायतर्फ ४ करोड ६ लाख रुपैयाँ घाटा भएको छ। गत वर्ष यही अवधिमा नाफा क्रमशः ३८ करोड ८१ लाख रुपैयाँ र ९ करोड ६५ लाख रुपैयाँ रहेको थियो। 

लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ ४९ करोड ४ लाख रुपैयाँ र जीवन व्यवसायतर्फ ४४ लाख ८७ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः ३० करोड २४ लाख रुपैयाँ र २ करोड ७७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म यो कम्पनीको निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ भने जगेडा तथा कोषको आकार ३ अर्ब ५५ करोड रुपैयाँको भएको छ। गत वर्षको यही अवधिमा निर्जीवनतर्फको बीमा कोषको आकार २ अर्ब ३ करोड रुपैयाँमा सीमित थियो भने जगेडा तथा कोषको आकार ४ अर्ब ७७७ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ ४ अर्ब १७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यही अवधिमा ३ अर्ब ४० करोड आर्जन गरेको थियो। 

यस्तै जीवन व्यवसायतर्फ समीक्षा अवधिमा ७८ करोड ४० लाख बीमा शुल्क आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो आर्जन ३९ करोड ४६ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिककीकृत) ५.००३ रुपैयाँ, पीई अनुपात २५५.२४ गुणा, प्रतिसेयर नेटवर्थ १५७.३३ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६२.५८ रुपैयाँ कायम भएको छ।