काठमाण्डौ । नेपाल फाइनान्सको अवितरित सवा १४ लाख कित्ता बढी सेयर आज असार १७ गतेबाट बिक्रीमा राखिएको छ। 

कम्पनीले गत जेठ ६ गतेदेखि जेठ २६ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि बिक्री खुला गरेको हकप्रदमा बिक्री हुन बाँकी रहेको कुल १४ लाख ३९ हजार ४१२.२७५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। जसमा संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.०८८ कित्ता सेयर छन्। 

लिलामी सेयरमा इच्छुक व्यक्ति, कम्पनी र संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालय, नेपाल लफाइनान्सको केन्द्रीय कार्यालयसहित बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा शाखा तथा प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ। 

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्या वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० अंकले भाग जारी गरी सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति असार २४ गते बैंकिङ समयसम्म तोकिएको छ।