काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको छ। 

गत असार २२ गतेदेखि बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘नेपाल एसबीआई ऋणपत्र–२०८३’ निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। 

यो ऋणपत्रको कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। यसमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन परेको छैन। 

यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिने। सीडीएससीको ‘मेरो सेयर’मार्फत आवेदन पनि दिन सकिनेछ। 

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतममा १२ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। 

बैंकको यो ५ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याज पाउनेछन्। 

ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।