काठमाण्डौ। दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वास नेपाल उद्योग परिसंघको रहँदै आएको छ। 

उच्च अंकको आर्थिक वृद्धि हासिल गर्न पूर्वाधारमा लगानी आवश्यक छ। यही अवधारणालाई आत्मसाथ गर्दै नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आगामी भदौ २३ र २४ गते चौथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन  हुन गइरहेको छ। सम्मेलनको सहआयोजकमा लगानी बोर्डको कार्यालय र नेपाली युवा निर्माण व्यवसायी समुदाय रहेका छन्।

यातायात, उर्जा, सहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधा पहिचान गर्दै विगत तीनवटा पूर्वाधार सम्मेलनको समीक्षा गर्ने, पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतीज्ञा एवं सुधारहरुलाई उत्प्रेरित गर्ने; पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने; दिगो विकास लक्ष्यहरु हासिल गर्न मद्दत गर्ने हरित, जलवायु, उत्थानशील पूर्वाधार परियोजनाहरुलाई प्राथमिकता दिने यस सम्मेलनको उद्देश्य रहेको छ। 

यसपटकको सम्मेलनको विषयवस्तु ‘विकासका लागि पूर्वाधार’ रहेको छ। सन् २०१९ मा भएको पूर्वाधार सम्मेलनपछि कोभिड–१९ का कारण सन् २०१९–२० मा नेपालको आर्थिक वृद्धि २.३७ प्रतिशतले संकुचित भयो। आर्थिक गतिविधिहरु विश्वव्यापी रूपमा ठप्प हुँदा विश्वले आपूर्तिमा गम्भिर अवरोधको सामना गर्नुपर्यो। नेपालले आर्थिक वर्ष २०२२–२३ मा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। 

कोभिड–१९ पछिको प्रोत्साहन एवं उच्च अंकको आर्थिक बृद्धि हासिलका लागि पूर्वाधारमा लगानी बाध्यकारी छ। एनआईएस २०२२ ले आर्थिक पुनरुत्थान, हरित पूर्वाधारमा ध्यान केन्द्रित गर्दै पूर्वाधारमा लगानी गर्नु नै उत्तम शर्त हो भन्ने धारणालाई सुदृढ पार्न खोजेको छ। 

विश्वव्यापी रुपमा भइरहेको पुँजी अभाव र बढ्दो ब्याजदरले पूर्वाधार क्षेत्रमा लगानीका लागि स्रोत परिचालनमा थप चुनौती बनेको बेलामा एनआईएस २०२२ ले स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई विश्वासमा लिएर नवप्रवर्तनकारी वित्तीय उपकरण र ढाँचामा केन्द्रिकृत गरेर संवादको माध्यमबाट यो कमीलाई कम गर्न खोज्नेछ। 

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रुपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने विश्वास लिएका छौं। पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार क्षेत्रको विकासका अवरोधलगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच गहन रुपमा छलफल हुनेछ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा गर्नेछन्। सम्मेलनको विशिष्ट अतिथिहरुमा भारतका सडक, यातायात तथा राजमार्ग मन्त्रालयका राज्यमन्त्री विजयकुमार सिंह, अर्थमन्त्री जनार्दन शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू हुनेछन्। 

यसैगरी सम्मेलनको विभिन्न सत्रमा पूर्वप्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, महानगरपालिकाका मेयर, पूर्वाधार क्षेत्रका राष्ट्रिय, अन्तर्राष्ट्रिय विज्ञ, एसियाली विकास बैंकका उपाध्यक्ष, प्राध्यापकहरुको प्रस्तुति हुनेछ। सगरमाथा सिमेन्टको मुख्य प्रायोजनमा हुने यस सम्मेलनमा २५ देशबाट ६०० भन्दा बढीको सहभागिता हुने अपेक्षा आयोजकको छ। 

परिसंघले पहिलो नेपाल पूर्वाधार सम्मेलन ‘पूर्वाधारमा द्रुतगति लगानी’ शीर्षकमा सन् २०१४ मा आयोजना गरेको थियो। सन् २०१७ मा आयोजित दोस्रो सम्मेलनको विषय ‘निजी क्षेत्र अपरिहार्य साझेदार’ र सन् २०१९ को तेस्रो नेपाल पूर्वाधार सम्मेलन ‘दिगो विकासका लागि लचिलो पूर्वाधार’ मा केन्द्रित थियो।