काठमाण्डौ । नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को आयोजनामा आगामी माघ १९ गतेदेखि बिराटनगरमा अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी ‘सीएनआई एक्स्पो २०२३’ हुने भएको छ। 

अन्तर्राष्ट्रियस्तरको कृषि तथा औद्योगिक प्रदर्शनी सीएनआई एक्सपो २०२३ मा प्रदेश नं. १ सहित मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीहरुको प्रदर्शनी एवं बिक्रीसमेत हुनेछ। यसका साथै प्रदर्शनीमा नयाँ सञ्चार तथा इलेक्ट्रोनिक्स प्रविधिको पहिचानसँगै कृषिमा हँुदै गएको आधुनिकीकरण, स्वास्थ्य मेडिकल क्षेत्रको नयाँ प्रविधि तथा सामग्रीको पहिचान र प्रदेशमा स्वदेशी वस्तुको उत्पादनका साथै व्यवसायीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानहरुको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी हुनेछ। 

कृषि उत्पादन, पर्यटन बिकास र स्थानीय उत्पादनको बजार व्यवस्थापनका लागिसमेत महत्वपूर्ण अवसरका रुपमा यो प्रदर्शनी रहनेछ। यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नयाँ लगाानीकर्ताहरुसमेत आकर्षित हुने आयोजकको विश्वास रहेको छ। 

स्वदेशीसहित भारत, चीन, बंगलादेश, पाकिस्तानलगायतका मुलुकहरुबाट समेत प्रदर्शनीमा सहभागिता गराउने योजना रहेको छ। प्रदर्शनीमा विविध मनोरञ्जन, सांस्कृतिक कार्यक्रम तथा फनपार्क समेत समाबेश गरिनेछ। प्रदर्शनी आगामी माघ १९ गते देखि माघ २८ गतेसम्म बिराटनगर महानगरपालिका वाड नं २ स्थित शंकरपुरमार्गमा संचालन गरिने छ।

यस प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनका माध्यमबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने परिसंघको विश्वास छ। प्रदर्शनीमा औद्योगिक उत्पादनहरु, कृषिका आधुनिक यन्त्र, उपकरणहरु, अटोमोबाइल्स, उत्पादन र सेवामूलक उद्योगका सामग्री, शैक्षिक, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिनेछ। 

प्रदर्शनीस्थलमा आधुनिक ४ वटा डोम र ३५० स्टल रहने छन्।