काठमाण्डौ । सेयर बजारको ‘ब्लुचिप कम्पनी’को रुपमा चिनिने नेपाल लाइफ इन्स्योरेन्सले पहिलोपटक नगद लाभांश मात्र वितरण गर्ने निर्णय गरेपछि लगानीकर्ता निराश देखिएका छन् ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ रुपैयाँको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको खबर बाहिरिएसँगै लामो समयदेखि यो कम्पनीको सेयर होल्ड गरेर बस्नेहरु बढी निराश देखिएका हुन् ।

एक वर्षअघि नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य प्रतिकित्ता १७०० रुपैयाँभन्दा माथि थियो । अहिले ६०० रुपैयाँको हाराहारीमा घुमिरहेको छ । समग्र सेयर बजार परिसूचकमै पनि पहिरो गएको बेला नेपाल लाइफको मूल्य घट्नुलाई कतिपय ‘स्वभाविक’ भन्छन् । तर, बजार परिसूचक जसरी घटेको छ, नेपाल लाइफको सेयरमूल्यको घटाई भने अलिक बढी नै अत्यासलाग्दो देखिन्छ । यसको मुख्य कारण कम्पनीले गत वर्ष वितरण गरेको हालसम्मकै कम १४ प्रतिशत बोनस सेयर र ‘आगामी दिनमा कम लाभांश दिन्छ’ भन्ने लगानीकर्ताको आँकलन हो । 

कम्पनीले आर्थिक वर्ष ०७७–७८ को सञ्चित मुनाफाबाट बोनस सेयरलाई छाडेर नगद लाभांश मात्रै वितरण गर्ने निर्णय गरेपछि कम्पनीको सेयरमूल्यको अवस्था र कम्पनीप्रति लगानीकर्ताको विश्वास अझ खराब बन्नसक्ने चिन्ता थपिएको छ । 

बिजशालाको सम्पर्कमा आएका दर्जनौ लगानीकर्ताले ‘नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सम्बन्धी रणनीति परिवर्तन भएकै हो ?’ भनेर प्रश्न गरेका छन् । यही प्रश्न हामीले नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीलाई सोधेका थियौं । 

पराजुलीले नेपाल लाइफ इन्स्योरेन्सको प्राथमिकतामा अब बोनस सेयर पर्न नसक्नेतर्फ संकेत गर्दै भनेका छन्–‘लाभांश सम्बन्धी रणनीति सधैंभरि एउटै हुन्छ भनेर विश्लेषण वा अनुमान गर्नु गलत हुन्छ । नियामकीय व्यवस्था, कम्पनीको आवश्यकता, विजिनेशको आकार तथा प्रवृति लगायतका कारणहरुबाट कम्पनीको लाभांश सम्बन्धी व्यवस्था निर्देशित हुन्छ । हामीले यसअघिका वर्षहरुमा लगातार बोनस सेयरमा जोड दिएर चुक्तापूँजी नियामकले तोकेभन्दा पनि निकै माथि पुर्याइसकेका छौं । अब फेरि पनि बोनस सेयर नै दिएर पूँजी मात्र बढाइरहनुपर्छ भन्ने हुँदैन । तसर्थ, अर्को आवश्यकता महसुस नभएसम्म हामीले बोनस सेयरलाई जोड दिन आवश्यक हुन्छ जस्तो लाग्दैन ।’

नेपाल लाइफका एक सञ्चालकले आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै अबका केही आर्थिक वर्ष कम्पनीले बोनस सेयरलाई प्राथमिकतामा नराख्ने प्रष्ट पारे । ‘अब हामीलाई चुक्तापूँजी पुगिसकेको छ । अहिले पनि हामी सबैभन्दा बढी पूँजी भएको जीवन बीमा कम्पनी हौं ।’ ती सञ्चालकले भने–‘फाइनान्सियल हेल्थका अन्य पाटोहरुलाई ध्यान दिएर हामी अगाडि बढ्छौं । पहिलाजस्तो बम्पर लाभांश त आउँदैन नै, बोनस सेयरमा पनि जोड दिइन्न ।’ 

कम्पनीको सीइओ र सञ्चालकको भनाईलाई आधार मान्दा पनि नेपाल लाइफको लाभांश सम्बन्धी आगामी रणनीति कस्तो हुनेछ भन्ने प्रष्ट हुन्छ । 

लोभलाग्दो लाभांश इतिहास
नेपाल लाइफ इन्स्योरेन्सले यसअघिका वर्षहरुमा आकर्षक लाभांश दिने गरेको थियो । एफपीओ जारी गर्दा प्राप्त भएको ६ अर्ब हाराहारीको प्रिमियमबाट केही वर्ष लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्न सम्भव भएको थियो । सो बेलाका वर्षहरुमा नेपाल लाइफले बोनस सेयरमा समेत जोड दिंदै आफ्नो पूँजीको आकार बलियो बनाउने रणनीति लियो । विगतको सोही रणनीतिका कारण हाल नियामक बीमा समितिले जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापूँजी ५ अर्ब हुनुपर्ने नीति कार्यान्वयनमा ल्याउँदा नेपाल लाइफको भने ८ अर्ब २० करोड ७९ लाख भन्दा बढी पुगिसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७३–७४ मा ४२ प्रतिशत बोनस सेयर र २८.५ प्रतिशत नगद लाभांश गरी कुल ७०.५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यस्तै, आर्थिक वर्ष ०७२–७३ मा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

आर्थिक वर्ष ०७१–७२ मा पनि २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आ.ब. ०७०–७१ मा ६० प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशसहित कुल ६८ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यस्तै, आर्थिक वर्ष ०६९–७० मा कम्पनीले ७० प्रतिशत बोनस सेयर र २८.५ प्रतिशत नगद लाभांश गरी कुल ९८.५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

आ.ब. ०६८–६९ मा ७० प्रतिशत बोनस सेयर र ५६.३१ प्रतिशत नगद लाभांशसहित कुल १२६.३१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

कम्पनीले आर्थिक वर्ष ०७४–७५ मा २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद लाभांश गरी कुल ४८.५ प्रतिशत लाभांश वितरण गरेको थियो । 

आ.ब. ०७५–७६ मा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गरेको थियो । 

आ.ब. ०७६–७७ मा हालसम्मकै सबैभन्दा कम अर्थात १४.७३६८ लाभांश वितरण गरेको थियो । योमध्ये १४ प्रतिशत बोनस सेयर थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ मा पहिलोपटक नगद लाभांश मात्र वितरणको निर्णय गरेको हो । यही आर्थिक वर्षभित्र घोषणा हुने आर्थिक वर्ष २०७८–७९ को लाभांशमा पनि नगद नै प्राथमिकतामा पर्ने देखिन्छ ।