काठमाण्डौ । वीरगन्जको घडिअर्वा पोखरीमा आज बिहान करिब २५० जनाको मुटु परीक्षण गरिएको छ। 

आगामी २९ सेप्टेम्बर बिहीबारका दिन विश्व मुटु दिवस भव्य रुपमा मनाउने क्रममा आजदेखि ४ दिनसम्म वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा हस्पिटलमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो। 

मानिसहरुको जीवनशैली, खानपान तथा व्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्याहरु बढिरहेकोले अस्पतालले जनचेतना अभिवृद्धिका लागि मुटु परीक्षण गरिरहेको नेपाल मेडिसिटी बयोधा अस्पतालका प्रमुख विजय रिमालले बताए। 

आज घडिअर्वा पोखरी र भोलिदेखि गहवा माईस्थानमा बिहान ६ बजे देखि आम सर्वसाधारणहरुको मुटुरोग परीक्षण गरिने र कसैलाई मुटुमा समस्या देखिएमा थप उपचारका लागि मुटुरोग विशेषज्ञहरुलाई परामर्श दिनेसमेत कार्यक्रम रहेको रिमालले बताए। 

कार्यक्रममा नेपाल मेडिसिटी बयोधा हस्पिटलकी मुटुरोग विशेषज्ञ डा. राधा भट्टराईले यस वर्ष आफूहरुले वीरगन्जका सर्वसाधारणहरुको मुटुको अवस्थाका बारेमा जानकारी लिने, बालबालिकाहरुमा देखिने मुटुको बाथरोगको परीक्षण गर्ने, वीरगन्जमा मुटु रोगका अवस्थाका बारेमा अध्ययन अनुसन्धान गर्नेलगायतका योजना रहेकोले सवै सर्वसाधारणहरुले मुटु परीक्षण कार्यक्रममा सरिक हुन आग्रह गरिन्। 

नेपाल मेडिसिटी बयोधा हस्पिटलले आगामी २९ सेप्टेम्बर बिहान ६ बजे वीरगन्जको घन्टाघरदेखि नेपाल मेडिसिटी बयोधा हस्पिटलसम्म म्याराथुन र सोही समयमा घन्टाघरदेखि नारायणी उपक्षेत्रीय अस्पतालसम्म वाकाथनको कार्यक्रम रहेको विश्व मुटु दिवस कार्यक्रमका संयोजक जितेश दासले बताए।