काठमाण्डौ । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकैपटक धेरै व्यक्तिलाई सामूहिक सन्देश (ग्रुप एसएमएस) पठाउन सकिने सेवा भोलि कात्तिक ८ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ। यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिनेछ। 

यो अफरअन्तर्गत २ हजार, ५ हजार र १० हजारवटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश सेवा उपलब्ध हुनेछ। प्रतिसन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १ हजारमात्र लाग्नेछ। 

त्यसैगरी रु. २ हजार ५०० मा ५ दिनभित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु. ५ हजारमा १० दिनभित्रमा १० हजार एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ। कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनै पनि कर समावेश छैन।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भावलगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ। 

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनका लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरु एक्सेल सिटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ।   

यस अफरबाट ग्राहकले लाभ लिने अपेक्षा कम्पनीको रहेको छ।