काठमाण्डौ । नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालय समशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । 

विगत ४ वर्षदेखि पार्किन्सन्सको समस्याबाट पीडित उनलाई पछिल्लो केही हप्ताअघिदेखि मृगौला, मुटु लगायतका अंगहरुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना गरी उपचार जारी राखिएको थियो । 

गत जनवरी १० मा नर्भिक अस्पतालकै बेडमा उनले आफ्नो ९५ औं जन्मदिन मनाएका थिए । 

अस्पतालका अनुसार आज बिहान अस्पतालमा उनले देहत्याग गरेका हुन् । 

जबरा सन् १९२८ मा स्वस्थानी पूर्णिमाका दिन जन्मेका थिए। ‘आज स्वस्थानी पूर्णिमाकै दिन बुवाको निधन भएको छ’, छोरी संगीता थापाले आफ्नो फेसबुक पेजमा लेखिकी छन्।

स्वर्गीय राणा नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैकको स्थापना गरेर मासिक ८ सय तलव खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्ष थियो ।

राणाको नेतृत्वमा राष्ट्रबैंकले नेपालको वित्तीय क्षेत्रमा उथलपुथल नै ल्याएको थियो । नेपालमा भारतीय नोटको प्रचलनलाई हटाउनेदेखि अनेकन वित्तीय सुधारका कामहरु राष्ट्र बैंकले गरेको थियो । 

राष्ट्रबैंकबाट रिटायर्ड भएपछि पनि उनी निस्क्रिय बसेनन् । उनले २४ वर्षसम्म लगातार संयुक्त राष्ट्रसंघको उच्च पदमा काम गरे । त्यसपछि व्यवसायमा पनि लागे । हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका हुन् ।

उनले ९५ वर्षको उमेरमा समेत २ वटा किताब प्रकाशनको तयारी गरिरहेका थिए । एउटा ‘क्रोनिकल अफ दी राणाज’ हो । यसमा जंगवहादुरदेखि मोहनसमशेरसम्मको समयमा भएका दरवारको आर्किटेक्चरबारे वर्णन गरिएको छ । यसैगरी राणाहरुको प्रशासन क्षेत्र, कुटनीति, त्यसवेलाको संस्कृति, साहित्य लगायतका कुरा पनि यसमा लेखिने केही समयअघि उनले बताएका थिए । साथै, अर्को उनको जीवनी एउटा पब्लिकेशनले लेखिरहेको थियो । 

स्वर्गीय राणाका २ छोरा र २ छोरी छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा उनका छोरा हुन् । यस्तै, इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र पूर्वमन्त्री तथा कांग्रेसका नेता सुनिलबहादुर थापा उनका ज्वाइँ हुन् ।