काठमाण्डौ । नेपालको पहिलो बैंक भएर पनि कुनै बेला धराशायी बनेको नेपाल बैंक लिमीटेडले पछिल्लो समय राम्रो प्रगति गरिरहेको छ । 

बैंकको व्यवस्थापन देवेन्द्रप्रताप शाहले सम्हालेपछि धराशायी बैंकमा आमूल सुधार भएको उसका प्रगति विवरणहरुले देखाउँछन् । यहीकारण पछिल्लो समय नेपाल बैंकका लगानीकर्ता समेत अब चाहि लाभांश पाउने बेला भयो होला भनेर आशातित उसो भए आगामी वर्षदेखि नेपाल बैंकका लगानीकर्ताले लाभांश पाउँछन् त ? 

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले घुमाउरो ढंगले आगामी वर्षदेखि लगानीकर्ताले बोनस सेयर र नगद लाभांश नै पाउनसक्ने संकेत गरेका छन् । 
बैंकले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो तीन वर्षे प्रगति विवरण सार्वजनिक गरेको छ । एफपीओ केन्द्रीत पत्रकार सम्मेलनमा सीइओबाट प्रस्तुत प्रेस विज्ञप्तिमा भनिएको छ–‘एफपीओबाट नेपाल बैंकले रु.१७६ करोड सेयर पूँजीमा र रु.३१६ करोड सञ्चित कोषमा थपिनेछ । थपिएको यो रिजर्बबाट मात्र नयाँ र पुराना सबै सेयर होल्डरहरुलाई ३२ प्रतिशतसम्म बोनस सेयर दिन पुग्नेछ । यसबाहेक सामान्य कमाईबाट नगद लाभांश दिने बाटो त छँदैछ ।’ 

यो बैंकले पछिल्लो समय व्यवसाय गरेरै खूद नाफा समेत निकै राम्रो आर्जन गरिरहेको छ । यसरी हेर्दा एफपीओबाट सञ्चित कोषमा जम्मा हुने रकमले बोनस सेयर दिएर त्यसको साथमा खूद नाफाबाट केही नगद लाभांश दिनसक्ने अवस्थामा बैंक रहेको सहजै बुझ्न सकिन्छ । 

विगत २ दशकदेखि नेपाल बैंकले आफ्ना सेयर होल्डरहरुलाई केही दिन सकेको छैन । तर, २०७४/७५ को ब्यालेन्ससिट स्वीकृत पश्चात यो बैंकले हरेक वर्ष लाभांश घोषणा गर्नसक्ने कुरा समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।  एकुमुलेटेड नोक्सान जिरो भइसकेको र बैंकको नाफाको आधार बढ्दै गएकोले अब लाभांश दिन संभव भएको बैंकका सीइओ शाहको जिकिर छ ।

त्यसो त बैंकले निश्कासन गर्न लागेको एफपीओलाई केयर रेटिंग नेपालले ३ प्लसको ग्रेडिंग दिएको छ । जसको अर्थ बैंकको अवस्था राम्रो छ भन्न सकिन्छ । यो ग्रेडिंग देशकै धेरै वाणिज्य बैंकभन्दा राम्रो र उच्च स्तरको समेत हो । 

यस्तै, बैंकको पीई रेसियो ७ गुणाको हाराहारीमा रहेको छ । यसको अर्थ यसको मूल्य हुनुपर्ने भन्दा कम रहेको र अझै बढ्नेछ भन्ने सन्देश दिएकोले बैंकको अवस्था मजबुत रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।