काठमाडौं। नेपाल बैंक लिमीटेडलाई धितोपत्र बोर्डले एफपीओ निश्कासनको अनुमति दिएको छ । 

धितोपत्र बोर्डका अनुसार नेपाल बैंकले अंकित मूल्य १०० रुपैयाँमा १८० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २८० रुपैयाँको दरले एफपीओ निश्कासनको अनुमति पाएको हो ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले एफपीओ यही साताभित्र निश्कासन हुने जानकारी दिए । 

बैंकले एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ । 

बैंकले २८० रुपैयाँको दरले १ करोड ७६ लाख कित्ता एफपीओ निश्कासन गर्नेछ । 

एफपीओपछि बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोडको उचाईमा पुग्नेछ भने प्रिमियमबाट संकलित ३ अर्ब १६ करोड ८० लाख रुपैयाँ जगेडाकोषमा जम्मा हुनेछ । 

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एफपीओपछि सेयर स्वामित्व संरचना परिवर्तन भई सरकारको ५१ प्रतिशतमा सीमित हुनेछ । एफपीओ खरीद गर्नेहरुको सेयर स्वामित्व १७ प्रतिशत हुनेछ । 

यो बैंकको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ ।