काठमाण्डौ । नेपाल टेलिकमले भोलि चैत २९ गतेदेखि ३ महिनाका लागि स्प्रिङ अफरका रुपमा विभिन्न अफरहरु उपलब्ध गराउने भएको छ। 

यस अफरमा एफटीटीएच प्याकेजलाई अझ आकर्षक बनाइएको छ। यसअनुसार डाटा सुविधामात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक रु. ८ हजारमा उपलब्ध हुनेछ। पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक रु. ६ हजारमा उपलब्ध गराइनेछ। 

यसका साथै कम्पनीले १ वर्षे प्याकेज तथा आईपीटीभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबीपीएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ।

त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइनेछ। 

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याकलगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ। सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डाटा खपत भएपश्चातको डाटा थ्रोटिङ स्पिडमा बढोत्तरी गरिएको छ। 

प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डाटा सेवाको खपतपश्चात उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *1442# डायल गरी सुलभ दरको एड अन प्याक पनि प्राप्त गर्न सकिन्छ। 

स्प्रिङ अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। 

त्यसैगरी नेपाल टेलिकमको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।