काठमाण्डौ । नेपाल बैंकले आज(असार १५ गते)देखि एफपीओ निश्कासन गरेको छ । 

दोश्रो बजारमा कारोबार भइरहेको दरभन्दा केही सस्तोमा नेपाल बैंकले एफपीओ निश्कासन गरेको हो ।

यो बैंकको दोश्रो बजारमा बिहीबारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता २९३ रुपैयाँ रहेको छ । बैंकले १०० रुपैयाँ फेस भ्यालूमा १८० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २८० रुपैयाँको दरले एफपीओ जारी गरेको हो । 

बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको छ । 

एफपिओ छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेससम्म आवेदन दिन सकिनेछ ।

एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ । 

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

धितोपत्र बोर्डले संसोधन गरेको सार्वजनिक निश्कासन निर्देशिकाअनुसार नेपाल बैंकको एफपीओमा आजैदेखि संस्थागत लगानीकर्ताले समेत आवेदन गर्न पाउनेछन् । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ । 

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । एफपिओ निष्कासनपछि बैंकको चुक्तापूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँको उचाईमा पुग्नेछ । एफपीओबाट प्राप्त ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम बैंकको सञ्चित कोषमा जम्मा हुनेछ भने चुक्तापूँजीमा १ अर्ब ७६ करोड ८४ लाख थपिनेछ ।

एफपिओ निष्काशनसँगै बैंकमा सरकारको हाल कायम ६२ प्रतिशत सेयर स्वामित्व घटेर ५१ प्रतिशत कायम हुनेछ भने ३८ प्रतिशत रहेको सर्वसाधारणको स्वामित्व बढेर ४९ प्रतिशत पुग्नेछ ।

बैंकको एफपिओलाई केयर नेपालले आईपिओ ग्रेड ३ को रेटिङ प्रदान गरेको छ, जसको अर्थ औसत आधारहरु रहेको भन्ने हो । बैंकको अवस्था औसत रहेकोले यसको एफपीओ खरीद गर्दा त्यति धेरै जोखिम नहुने भन्ने यो रेटिङको अर्थ हो ।