काठमाण्डौ । प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँमा एफपीओ निश्कासन गरेको नेपाल बैंकको दोश्रो बजारमा सेयर मूल्य घटिरहेको छ । 

एफपीओ निश्कासन हुँदा दोश्रो बजारमा प्रतिकित्ता २९३ रुपैयाँ रहेको नेपाल बैंकको सेयर मूल्य दिउँसो १ः३० बजेसम्म घटेर प्रतिकित्ता २९१ रुपैयाँमा सीमित बनेको हो । 

बैंकको सेयर मूल्य अझै घट्ने संभावना छ । 

आइतबार बजार खुलेपछि दिउँसो डेढ बजेसम्म बैंकको सेयर मूल्य प्रतिकित्ता २ रुपैयाँले घटिसकेको छ । 

एकातिर यो बैंकले निश्कासन गरेको एफपीओमा अत्यन्त न्यून आवेदन परिरहेको छ भने अर्कोतर्फ दोश्रो बजारमा समेत मूल्य घट्दा एफपीओ अझ बढी जोखिममा पर्ने देखिएको छ । 

एफपीओमा न्यून आवेदन पर्दा नेपाल बैंकलाई भन्दा उसको एफपीओ प्रत्याभूति गर्ने मर्चेन्ट बैंकहरुलाई आपत पर्ने देखिएको छ । केही करोड चुक्तापूँजी भएका मर्चेन्ट बैंकहरुले कसरी नेपाल बैंकको करोडौंको एफपीओको प्रत्याभूति गर्लान् भन्ने प्रश्न समेत अहिले बहसमा छ । 

निश्कासन भएको पहिलो दिन शुक्रबार १ हजार २ सय ५८ आवेदकले १ लाख २५ हजार ६ सय ५० कित्ताका लागि ३ करोड ५१ लाख ८२ हजार रुपैयाँ बराबरको मात्र प्रस्ताव पेश गरेका छन । आइतबार दिउँसोसम्मको अवस्था हेर्दा एफपीओमा उत्साहजनक आवेदन परेको छैन । 

यो बैंककै एफपीओका लागि धितोपत्र बोर्डले सार्वजनिक निश्कासनको विद्यमान व्यवस्थामै संसोधन गरेर सेयर आवेदन खुलेको पहिलो दिनदेखि नै संस्थागत लगानीकर्ताले समेत आवेदन दिन पाउने व्यवस्था गरे पनि एफपीओमा भने सो समूहको पनि खासै आकर्षण नदेखिएको पाइएको छ । 

बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो । 

एफपिओ छिटोमा असार १९ गतेसम्म र ढिलोमा साउन १३ गतेससम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।