काठमाण्डौ । देशकै पहिलो बैंक ‘नेपाल बैंक लिमीटेड’ले निश्कासन गरेको एफपीओ नबिकेर कन्तबिजोग छ । यो बैंकको एफपीओमा केही सर्वसाधारण लगानीकर्ताले मात्र आवेदन दिएका छन् भने ठूला संस्थागत लगानीकर्ताले एफपीओ खरीदमा खासै चासो दिएका छैनन् । 

एफपीओ नबिकेर हैरानी परिरहेको बेला यो बैंकको दोश्रो बजारको मूल्यमा समेत पहिरो जान थालेको छ । अरुबेला एकदुई रुपैयाँ(प्रतिकित्तामा)ले घटबढ भइरहेको बैंकको दोश्रो बजारको मूल्यमा सोमबार पहिरो गएको छ । 

अघिल्लो दिन २९२ रुपैयाँ प्रतिकित्ता अन्तिम बिक्री मूल्य रहेकोमा सोमबार भने घटेर प्रतिकित्ता २८४ रुपैयाँमा झरेको हो । यसरी एकैदिन नेपाल बैंकको मूल्य प्रतिकित्तामा रुपैयाँले घटेको हो । 

यो बैंकले प्रतिकित्ता २८० रुपैयाँ(प्रिमियमसहित)मा एफपीओ निश्कासन गरेको छ । तर, दोश्रो बजारको सोमबारको अन्तिम बिक्री मूल्य एफपीओ मूल्यभन्दा रुपैयाँले मात्र बढी रहेको छ । दोश्रो बजारमै एफपीओ मूल्यको हाराहारीमा सेयर पाउने भएपछि २८० रुपैयाँमा मरिहत्ते गरेर बैंकको सेयर खरीद गर्ने सान्दर्भिकता समेत अब समाप्त भएको छ । 

नेपाल बैंकले निश्कासन गरेको एफपीओमा न्यून आवेदन परिरहेको छ । दोश्रो दिनसम्म यो बैंकको एफपीओमा मागको तुलनामा २ प्रतिशत पनि आवेदन परेको छैन । यस्तो अवस्थामा दोश्रो बजारमा समेत सेयर मूल्य घटेर एफपीओ मूल्य भन्दा तल आउने छाँट देखिएपछि बैंकको एफपीओलाई संकटमा फसेको छ ।

अर्को आपत !
यो बैंकले धितोपत्र बोर्डलाई प्रभावमा पारेर सार्वजनिक निश्कासन निर्देशिका नै संसोधन गर्नेसम्मका काम गराएको थियो । धितोपत्र बोर्डले एनएमबी बैंकको एफपीओ समेत भनेजसरी नबिकेपछि नेपाल बैंककै आग्रहमा उसको सबै एफपीओ बिकाउने उद्देश्यले सार्वजनिक निश्कासन निर्देशिका संसोधन गरिएको थियो । नेपाल बैंकको एफपीओ बिकाउने उद्देश्यले निर्देशिका संसोधन भए पनि ठूला लगानीकर्ताहरुमध्ये ठूलो संख्यामा सेयर उठाउने तयारी गरिरहेका केही संस्थागत लगानीकर्ता समेत पछाडि हटेका छन् । यहीकारण नेपाल बैंकको एफपीओ अण्डरराइट गर्नेहरु अहिले तनावमा छन् । 

अर्थमन्त्रालयले नेपाल बैंकको एफपीओ २८० रुपैयाँमा उठाउने तयारीमा लागेको नागरिक लगानीकोष र कर्मचारी सञ्चयकोषलाई सेयर नउठाउन आन्तरिक सर्कुलर गरेपछि अब नेपाल बैंकको एफपीओमा थप आपत  आइलागेको छ । जनता तथा कर्मचारीले दुःख गरी जम्मा गरेको पैसा घाटा हुने गरी जथाभावी रुपमा नेपाल बैंकको एफपीओमा लगानी नगर्न अर्थले ठूला संस्थागत लगानीकर्तालाई रोकिदिएपछि यसले नेपाल बैंकको एफपीओमा अत्यन्त न्यून आवेदन पर्ने र यही प्रकरणबाट एफपीओ वा प्रिमियम मूल्यमा आइपीओ निश्कासन गर्न चाहनेहरुले समेत सोच्नुपर्ने दिन सुरु हुने विश्लेषण गर्न थालिएको छ । 

योसँगै बजारमा शिवम् सिमेन्टको प्रिमियमसहितको आइपीओ मूल्यको बिषयमा समेत बहस सुरु भएको छ । लगानीकर्ताहरुलाई उल्लू बनाएर सहजै पूँजी जुटाउने एफपीओ वा प्रिमियमसहितको आइपीओको भविष्य संकटपूर्ण बनेको पछिल्ला केही घटनाक्रमले समेत देखाउँछ ।