काठमाण्डौ । नेपाल बैंकको एफपीओमा पहिलो चरणको चार दिने अवधिमा अत्यन्त न्यून आवेदन परेको छ । 

बैंकले असार १५ गतेदेखि खुल्ला गरेको ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड  ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओमा पहिलो चरणको अन्तिम दिन मंगलबार(असार १९)सम्म २८ करोड ९० लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । 

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कुल ९ हजार ६ सय ३२ आवेदकबाट १० लाख ३२ हजार ४०० कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो हिसाबले नेपाल बैंकको एफपीओमा पहिलो चरणमा ६ प्रतिशत पनि आवेदन परेन । कुल निश्कासित कित्तामध्ये ५.८३ प्रतिशत मात्र खरीदका लागि आवेदन परेको हो । 

बैंकले पहिलो चरणमा एफपीओ बिक्री नहुने देखेपछि र संस्थागत लगानीकर्ताको निकै न्यून चासो मात्र देखिएपछि साउन १३ गतेभित्र आवेदन दिनसकिने सूचना प्रकाशित गरिसकेको छ । यो भनेको ढिलोमा आवेदन दिने समय सीमा हो । 
 
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।