काठमाण्डौ । नेपाल बैंक लिमीटेडले निश्कासन गरेको एफपीओमा आवेदन पर्ने क्रम झनै सुस्त बन्दै गइरहेको छ । 

यो बैंकले एफपीओ निश्कासन गरेको नवौं दिन सोमबार(असार २५ गते) २२५ वटा आवेदन मात्र परेका छन् । यो दिन २३ हजार ३ सय ९० कित्ता खरीदका लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । 

यसरी बैंकको एफपीओमा नवौं दिनसम्म आइपुग्दा कुल ११ हजार ६ सय ९ आवेदकबाट १२ लाख २९ हजार ६ सय २० कित्ता खरीदका लागि आवेदन परेको हो । कुल ३४ करोड ४२ लाख ९३ हजार ६ रुपैयाँ बराबरको आवेदन परेको छ । 

बैंकले असार १५ गतेदेखि प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो । 

एफपिओ खरीदका लागि साउन १३ गतेससम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।