काठमाण्डौ । नेपाल बैंक लिमीटेडको एफपीओलाई अर्को संकट आइलागेको छ । 

त्यसै पनि दोश्रो बजारमा मूल्य घटेर सकस व्यहोरिरहेको र लगानीकर्ताले नपत्याइदिएपछि बेहाल बनेको यो बैंकको एफपीओ बिक्री हुन अब झनै समस्या हुनेछ । 

यो बैंकको सेयर दोश्रो बजारमै एफपीओ मूल्यमै पाउन थालिएपछि बैंकले निश्कासन गरेको सेयर बिक्री नहुने गरी संकट आइपरेको हो । 

बैंकले असार १५ गतेदेखि प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको थियो ।

एफपिओ साउन १३ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको छ । 

तर, दोश्रो बजारमै नेपाल बैंकको मूल्य बिहीबार प्रतिकित्ता २८० रुपैयाँमा झरेको हो । यसअघि २८१ रुपैयाँ रहेको बैंकको मूल्य २८० मा झर्न पुगेको हो । दोश्रो बजारमै २८० रुपैयाँ नेपाल बैंकको सेयर फालाफाल पाइएपछि एफपीओ भर्नुको अर्थ नहुने भन्दै लगानीकर्ताले चासो दिएका छैनन् । 

बुधबारको बजारमैत्री मौद्रिक नीतिपछि पनि बजार बढ्न नसकेकोले आगामी दिनमा यो बैंकको सेयर मूल्य एफपीओ भन्दा पनि तल झर्ने संभावना बढेको छ । यसो भयो भने त बैंकको एफपीओमा झनै ठूलो संकट आइलाग्नेछ । 

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम सीमाभित्र रहने गरी १० कित्ताको गुणाङ्कमा अधिकतम कित्तासम्म आवेदन गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

नेपाल बैंकको एफपीओमा ८ मर्चेन्ट बैंकले अण्डरराइट गरेका छन् । सीबीआइएल क्यापिटल, ग्लोबल आइएमई क्यापिटल, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सनराइज क्यापिटल, सानिमा क्यापिटल र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडले बैंकको एफपीओमा प्रत्याभूति गरेका हुन् । यसको अर्थ यो बैंकको एफपीओ सबै बिक्री भएन भने बिक्री नभएको सबै कित्ता यी ८ वटा मर्चेन्ट बैंकले प्रतिबद्धता जनाएअनुसारको प्रतिशतका आधारमा उठाउनुपर्नेछ ।