काठमाण्डौ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड यतिखेर नेतृत्व विहिन छ ।

तत्कालिन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि गत पुुस २० गतेदेखि धितोपत्र बोर्डमा अध्यक्षको चेम्बरमा  ताला लागेको छ ।

यतिखेर बल्ल अर्थ मन्त्रालयले अध्यक्ष चयनका लागि छनौट समिति बनाउने प्रक्रिया सुरु गरेको छ ।उक्त समितिको सिफारिस विभिन्न प्रक्रिया पुरा गर्दै मन्त्रिपरिषदमा पुग्न पनि केहि महिना अझै लाग्ने भएकाले अझै धितोपत्र बोर्ड नेतृत्व विहिन हुने देखिएको  छ।
 

नयाँ अध्यक्षका लागि प्रक्रिया अगाडि बढ्दै गर्दा बोर्डमा आफ्नो अनुकुल व्यक्ति अध्यक्ष बनाउन यतिखेर विचौलिया हावी भएको स्रोत बताउँछ ।

स्रोतका अनुसार हमाल बाहिरिए पछि बोर्डमा ‘विचौलिया’ दीपक भट्टले आजभोलि तिब्ररुपमा लवीईङ गरिरहेका छन् । स्रोतले भन्यो, ‘अन्ततगोत्वा भट्टकै मानिस बोर्डमा अध्यक्ष भएर आउने हुन् ।’
 

हुन त तत्कालीन अध्यक्ष हमालका सहयोगी भनेर यसअघि चर्चामा आएका बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठलाई बोर्ड अध्यक्ष बनाउने सम्भाबना पनि छ । किनकि उनी र हमाल मिलेर कार्यकालभरि नै  अर्थमन्त्रालयको विश्वास जितेका थिए । यदि बोर्ड भित्रबाट सम्भब भएन भने चाहिं बाहिरबाट आउने व्यक्तिमा चिरञ्जीबी चापागाईंको नाम अग्रपंक्तिमा छ । उनी तत्कालिन बीमा समितिका अध्यक्ष पनि भइसकेका व्यक्तित्व हुन् । 
 

यतिमात्र नभई अध्यक्षकै लागि शिबराज श्रेष्ठ पनि दौडमा छन् । उनी चाहिं नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । 
तर स्रोतको दाबी अनुसार यसका लागि हाल लगानी बोर्डका  प्रमुख कार्यकारी अधिकृत(सीईओ)  सुशिल भट्ट र उनका भाईसमेत रहेका दीपक भट्टले राजनीतिक नेतृत्वलाई रिझाउन तिब्र रुपमा लवीईङ गरिरहेका छन् । उनीहरु शक्तिकेन्द्र रिझाउन निकै माहिर पनि छन् ।

तर विश्वसनीय स्रोतले  नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाका पुत्र जयबीर सिंह देउवालाई विचौलियाका रुपमा परिचित दीपक भट्टले हालैमात्र बोर्डमा आफ्नो अनुकुलको व्यक्ति ल्याउने शर्तमा ३ करोड रुपियाँभन्दा बढी पर्ने प्राडो खरिद गरिदिएको बताएको छ

अहिले नयाँ स्टक एक्सचेञ्ज र कमोडिटिज बजार ल्याउन ठूलै कसरत भइरहेको छ । नयाँ  स्टक एक्सचेञ्ज ल्याउन सके अर्बौ रुपैयाँ चलखेल गर्न पाइने बजारमा चर्चा/परिचर्चा चलेको छ ।  
 

बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले नयाँ प्रडक्ट पनि ल्याउन नसकेको र लगानीकर्ताको अपेक्षा अनुसार काम पनि गर्न नसकेको आरोप लाग्ने गरेको छ ।

यहि मौका छोपेर लामो समयदेखि बजारका केहि ‘गिरोह’ भने नयाँ स्टक एक्सचेञ्जका लागि पनि सक्रिय रुपमा लागेका परेका छन् ।