काठमाण्डौ । नेपाल बैंकको एफपीओमा शुक्रबार दिउँसोसम्म ६८ करोड ६३ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । 

यो बैंकको एफपीओमा १७ हजार ५ सय ३९ आवेदकबाट ६८ करोड ६३ लाख ५ हजार २ सय रुपैयाँ बराबरको आवेदन परेको हो । 

यो बैंकले ४ करोड ९५ लाख रुपैयाँ बराबरको एफपीओ प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले निश्कासन गरेको भए पनि अत्यन्त न्यून कित्ताका लागि मात्र आवेदन परेको छ । 

शुक्रबार एफपीओमा आवेदन दिने २५ औं दिन हो । नेपाल बैंकको एफपीओमा आवेदन दिने अन्तिम दिन आइतबार हो । तर, आवेदन दिने समय बन्द हुनै लाग्दा समेत एफपीओमा अत्यन्त न्यून आवेदन परेको देखिएको छ । 

बैंकले १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेकोमा शुक्रबार दिउँसोसम्म २४ लाख ५१ हजार ९० कित्ता मात्र बिक्री भएको छ । यो हिसाबले बन्द हुन करिब डेढ दिन बाँकी छँदा नेपाल बैंकको एफपीओ १३.८५ प्रतिशत मात्र बिक्री हुन सकेको छ । 

बैंकले असार १५ देखि एफपीओ निश्कासन गरेको थियो । छिटोमा असार १९ गतेसम्म आवेदन दिनुपर्ने भए पनि बिक्री नभएपछि त्यसको म्याद बढाई ढिलोमा  साउन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो । असार २० गतेदेखि बैंकको एफपीओमा संस्थागत लगानीकर्ताको आवेदन समेत खुल्ला गरिएको थियो । तर, संस्थागत लगानीकर्ताले समेत चासो नदेखाएपछि नेपाल बैंकको एफपीओ इतिहासमै सबैभन्दा कम बिक्री भएको सार्वजनिक निश्कासन बन्न पुगेको छ । 

विश्लेषकहरुले बजारमा तरलताको अभाव, दोश्रो बजार घटेर चौपट भई लगानीकर्ता प्यानिक अवस्थामा हुनु र धितोपत्र बोर्डले बैंकको एफपीओलाई दोश्रो बजार हाराहारीकै मूल्यमा निश्कासन गर्ने अनुमति दिनु जस्ता कारणलाई एफपीओ बिक्री नहुने कारण मानेका छन् ।