काठमाण्डौ । नेपाल बैंकको एफपीओमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिने आज(साउन १३ गते) अन्तिम दिन हो । 

यो बैंकको एफपीओमा शुक्रबार साँझसम्म १७ हजार ५ सय ३९ आवेदकबाट२४ लाख ५१ हजार ९० कित्ताका लागि आवेदन परेको छ । कुल रु.६८ करोड ६३ लाख ५१ हजार रुपैयाँको आवेदन परेको छ । 

यो बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ बराबरको एफपीओ प्रिमियमसहित प्रतिकित्ता २८० रुपैयाँको दरले निश्कासन गरेको भए पनि अत्यन्त न्यून कित्ताका लागि मात्र आवेदन परेको छ । अन्तिम दिन आज भएकोले सबै कित्ता बिक्री हुने संभावना छैन । 

बैंकले कुल १ करोड ७६ लाख ८४ हजार ८ सय ५८ कित्ता एफपीओ निश्कासन गरेको हो । आइतबार(आज) पनि सबै कित्ता बिक्री नभए बैंकका संस्थापक सेयरधनी र तिनका परिवारले आवेदन दिन पाउने गरी एफपीओको बिक्री खुल्ला गर्नेछ । त्यसपछि पनि पूरै आवेदन नपरे अण्डरराइट गर्ने मर्चेन्ट बैंकहरुले नबिकेको कित्ता सकार्र्नुपर्नेछ । यसरी एफपीओ बिक्री नहुँदा बैंकलाई कुनै घाटा छैन, अण्डरराइट गर्ने न्यून पूँजी भएका मर्चेन्ट बैंकहरुलाई एफपीओ नबिक्दा सबैभन्दा बढी आपत पर्ने देखिन्छ । 

बैंकले असार १५ देखि एफपीओ निश्कासन गरेको थियो । छिटोमा असार १९ गतेसम्म आवेदन दिनुपर्ने भए पनि बिक्री नभएपछि त्यसको म्याद बढाई ढिलोमा  साउन १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको हो । असार २० गतेदेखि बैंकको एफपीओमा संस्थागत लगानीकर्ताको आवेदन समेत खुल्ला गरिएको थियो । तर, संस्थागत लगानीकर्ताले समेत चासो नदेखाएपछि नेपाल बैंकको एफपीओ इतिहासमै सबैभन्दा कम बिक्री भएको सार्वजनिक निश्कासन बन्न पुगेको छ । 

विश्लेषकहरुले बजारमा तरलताको अभाव, दोश्रो बजार घटेर चौपट भई लगानीकर्ता प्यानिक अवस्थामा हुनु र धितोपत्र बोर्डले बैंकको एफपीओलाई दोश्रो बजार हाराहारीकै मूल्यमा निश्कासन गर्ने अनुमति दिनु जस्ता कारणलाई एफपीओ बिक्री नहुने कारण मानेका छन् । 

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य  प्रतिकित्ता २८४ रुपैयाँ रहेको छ । 

बैंकले यो आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगानीकर्तालाई सहजै २५ प्रतिशतसम्म बोनस सेयर वितरण गर्नसक्ने हैसियत बनाएको छ ।