-भक्तराज रसाइली
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल बैंकको एफपीओ प्रकरणमा पुरानै अडान लिएको छ । योसँगै नेपाल बैंकको एफपीओ कृत्रिम बजारबाट किनबेच गर्नेहरुलाई झनै अप्ठ्यारो परेको छ । 

बोर्डले गत कात्तिक ४ गते जारी गरेको पत्रमाथि पुनर्विचारका लागि भन्दै अण्डरराइटर मर्चेन्ट बैंकरहरुले निवेदन दिएपछि भएको केही चरणको छलफलपछि पनि बोर्डले आफ्नो अडान नत्यागेको हो । उसले नेपाल बैंकको एफपीओ अण्डराइटरहरुले गैरकानूनी बाटोबाट किनबेच गरेका भन्दै पुरानो निर्देशन अनुसार नै गर्न भन्दै पुनः पत्र पठाएको हो । 

मर्चेन्ट बैंकरहरुले नक्कली बजार मार्फत १२४ जना व्यक्ति तथा संस्थालाई निर्धारित मूल्य भन्दा कम मूल्यमा र सिस्टमभन्दा बाहिर बिक्री गरेको तथ्य फेला परेको थियो । 

मर्चेन्ट बैंकरहरु र किनेका व्यक्तिहरुको धपेडीलाई यसपटक निस्तेज पार्न धितोपत्र बोर्डले आफ्नो दरिलो अडान लिएर कात्तिक १२ गते अपरान्ह पुनः पत्र काटेको र कात्तिक ४ गतेको परिपत्र अनुसार नै गर्न पुनः लिखित निर्देशन दिइएको बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले बिजशालालाई बताएका छन् ।  

कात्तिक ४ गते धितोपत्र बोर्डले बोर्डले नेपाल बैंकको बिक्री नभएको एफपीओ प्रत्याभूतिकर्ताहरुले स्वीकार गरी आफ्नो खातामा आएपछि मात्र बिक्री गर्नुपर्नेमा सो नगरी अन्य संस्था तथा व्यक्तिहरुलाई बिक्री गरेको देखिएको भन्दै त्यस्तो गम्भीर गल्ती गर्नेलाई सचेत गराएको थियो । 

बोर्डले नेपाल बैंकको एफपीओ अण्डरराइट गर्ने ८ मर्चेन्ट बैंकहरुलाई पहिले आफ्नो खातामा सेयर जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट सेयर नामसारी गर्न र  आगामी दिनमा समेत यही व्यवस्था कार्यान्वयनमा ल्याउन अन्य सरोकारवालाई समेत निर्देशन दिएको थियो । कात्तिक १२ गते समेत ८ वटा मर्चेन्ट बैंकहरुलाई सोही आशयको पत्र पुनः काटिएको हो ।  

बोर्डले सिद्धार्थ क्यापिटल लिमीटेड, ग्लोबल आइएमई क्यापिटल लिमीटेड, एनआइबिएल एस क्यापिटल, सिभिल क्यापिटल, सिविआइएल क्यापिटल, सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, र नेपाल एसबीआई मर्चेन्ट बैंकिंग लिमीटेडलाई गल्ती नदोहोर्याउन भन्दै पत्र काटेर पुनः सचेत  गराएको हो ।