काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डसँग आफूहरुको कुनै झगडा र द्वन्द्व नरहेको दाबी गरेका छन् । 

बोर्डको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै साउदले यस्तो दाबी गरेका हुन् । 

‘बेला बेलामा पत्रकार साथीहरुले सोध्नुहुन्छ-तपाईहरुको त राम्रो छैन रे नि त ? त्यो राम्रो नराम्रो भनेको के हो, मैले बुझ्न सकेको छैन ।’ उनले भने–‘म नेप्सेमा आएको २ वर्ष भयो, हामी सानो भन्दा सानो काम पनि सल्लाह गरेर गर्छौ । त्यसैको परिणामस्वरुप आ–आफ्नो क्षेत्रमा बसेर काम गर्न सकेका छौ, संभव भएको छ ।’ 

सेयर बजारको फड्को मारिसकेको दाबी गरेका उनले अर्थमन्त्रालय, धितोपत्र बोर्ड, नेप्से र सिडिएससीबीच राम्रो समन्वय रहेको र मिलेर काम गरेका कारण समेत यो संभव भएको दाबी गर्न समेत भ्याए । 

प्राथमिक पूँजीबजार ७७ वटै जिल्लामा पुगेको स्पष्ट पार्दै उनले बुझ्ने लगानीकर्ताहरुको देशैभर दोश्रो बजारको समेत पहुँच बिस्तार भइसकेको जिकिर गरे । ‘प्राथमिक बजारजस्तो दोश्रो बजार हुँदैन, यो कुरा बुझ्न जरुरी छ । प्राथमिक बजारमा परल मूल्यमा सेयर इस्यू हुन्छ, दोश्रो बजारमा बजारले मूल्य निर्धारण हुन्छ ।’ साउदले भने–‘बुझ्ने लगानीकर्ता भएको ठाउँमा प्राथमिक बजार झै दोश्रो बजारको उपलब्धता समेत छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथीहरुले ब्रोकरमार्फत पासवर्ड लिएर कारोबार गरिरहेका छन्।’

बजेटमार्फत सरकारले पूँजीबजार सुधारका धेरै कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत पूँजीबजारमा गर्नसक्ने विकास र बिस्तारका लागि आफूहरु कटिबद्ध रहने र सबै सरोकारवाला पक्षसँग सरसल्लाह गरी पारदर्शी बजार निर्माणमा क्रियाशील हुने प्रतिबद्धता समेत जनाएका थिए ।