काठमाण्डौ । २ साउनमा १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुमेपछि ओरालो लाग्न थालेको नेप्से अहिले पनि घट्दो क्रममै छ । सोमबार नेप्से अघिल्लो दिनको तुलनामा थप १३ दशमलव ३७ अंक (शून्य दशमलव ८८ प्रतिशत) घटेर १ हजार ५ सय ९ दशमलव ४३ अंकमा झर्‍यो  । यहीबीच नेप्से १ हजार ४ सय ६९ अंकसम्म ओर्लिएको थियो । दैनिक व्यापारमा नेप्सेलाई १५ सय अंकको मनोवैज्ञानिक टेवा प्राप्त भएजस्तो देखिए पनि मध्यकालीन प्राविधिक समीक्षाले नेपाली सेयर बजार अझै ओरालो लाग्न सक्ने  देखाएका छन् । नेप्सेका केही प्राविधिक विश्लेषणले सेयर बजारमा घट्दो प्रवृत्ति (वियरिस ट्रेन्ड) सुरु भएको संकेत दिएका छन् । आधारभूत रूपमा बजार थप ओरालो लाग्ने प्रशस्त सम्भावना देखिएका वेला प्राविधिक औजारले पनि नेप्सेको घट्दो क्रम जारी रहन सक्ने देखाएका हुन् ।

बजारको प्रवृत्ति विश्लेषण गर्ने र भविष्यवाणी (प्रक्षेपण) गर्न प्रयोग गरिने प्राविधिक उपकरण ‘पिभोट’ले बितेको ६ महिनामा सेयर बजार घट्दो प्रवृत्तिमा फर्किसकेको देखाएको छ । कीर्तिमानी उचाइ बनाएको यही अवधिमा नेप्से औसत पिभोटभन्दा १ सय १० अंक (६ दशमलव ८५ प्रतिशत) घटिसकेको छ । पिभोट विश्लेषणअनुसार अब नेप्सेले १ हजार ३ सय ५९ अंकमा टेवा पाउने देखिन्छ । रेखाचित्र विश्लेषणले भने १४ सय ६९ अंकको न्यूनतम बिन्दुलाई नै बलियो टेवाका रूपमा प्रस्तुत गरेको छ ।

राउन्डेड टप (अर्धचन्द्राकार उचाइ)

पछिल्लो ६ महिना नेप्सेको रेखाचित्र विश्लेषण गर्दा ‘राउन्डेड टप’ अर्थात् अर्धचन्द्राकार उचाइको आकृति बनेको छ । सुरुमा बजार सूचकांक लगातार उकालो लागेर पछि त्यही रफ्तारमा ओरालो लाग्दा यस्तो आकृति तयार भएको हो । सामान्यतया यस्तो आकृतिले बजार ओरालो गतिमा लागेको संकेत गर्छ । सूचकांक थप घट्ने सम्भावनालाई पनि यसले बलियो बनाउँछ ।

मुभिङ एभरेज (रातो रेखा)

नेप्सेको रेखाचित्रमा २१ दिने मुभिङ एभरेज (रातो रेखा)ले ५० दिने मुभिङ एभरेज (हरियो रेखा)लाई माथिबाट काटेर तल झरेको छ । दीर्घकालीन प्रवृत्ति रेखा (ट्रेन्ड लाइन)लाई अल्पकालीन रेखाले माथिबाट काटेमा बजार घट्ने प्राविधिक विश्लेषण गरिन्छ । अहिले यी दुई रेखाबीचको दूरी झन् बढ्दै जानुले नेप्सेको ओरालो लाग्ने प्रवृत्ति तत्कालै नरोकिने संकेत दिन्छ ।

आरएसआई

‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई)’ सेयर बजारको अल्पकालीन विश्लेषण गर्ने र लगानीकर्ताले आफ्नो रणनीति बनाउन प्रयोग गर्ने सबैभन्दा बलियो प्राविधिक हतियार हो । उक्त विश्लेषणले अहिले बजार घट्दो प्रवृत्तिमा भए पनि पूर्ण रूपमा विक्रेताको नियन्त्रणमा नपुगेको देखाएको छ । यो सूचक अहिले पनि ‘न्युट्रल जोन’ भनिने मध्यक्षेत्र (४० देखि ७० अंकको बीचभाग)मा नै छ ।

पछिल्ला दिनमा नेप्सेमा केही सुधार भएको देखाए पनि यो सूचकले अझ घट्न नेप्सेका लागि पर्याप्त ठाउँ रहेको देखाउँछ । तथापि, आरएसआई अहिले पनि ४० अंकको हाराहारीमा हु“दा अल्पकालीन व्यापारका लागि सेयर किन्न उपयुक्तहुने समाचार नयाँपत्रिकामा छापिएको छ ।