– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घटेको छ भने १ दिनमात्रै बढेको छ। 

अघिल्लो साता १९१७.२८ मा बन्द भएको सेयर बजार यो साता १८८२ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ३४.६७ अंकको गिरावट आएको छ। अघिल्लो साता सेयर बजार झन्डै ४४ अंकले ओरालो लागेको थियो। 

यो साता सेयर बजार ४ अर्ब ७० करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता ५ अर्ब ११ करोड रुपैयाँबराबरको कारोबार भएको थियो। यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैमा गिरावट आएको छ। 

प्राविधिक पक्ष

क्यान्डल स्टिकका आधारमा 

साप्ताहिक रुपमा बजारलाई हेर्दा यो साता पनि नेप्सेको चार्टमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यस्तो क्यान्डल अघिल्लो साता पनि बियरिस क्यान्डल बनेको थियो। यो साता १९०० को विन्दु तल झरेको बजारले १८८० मा सपोर्ट लिएको देखिन्छ। 

मुभिङ एभरेजका आधारमा 

मुभिङ एभरेज भन्नाले खास गरी मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ। कति दिनको औसत गणना गर्ने हो भन्ने विशेषगरी कति समयको उतारचढावलाई हेर्ने हो भन्ने कुराले निर्धारण गर्छ। 

छोटो समयको उतारचढावलाई हेर्ने हो भने विशेषगरी कम समयको तथ्यांकको समूहलाई आधार बनाई औसत निकालिन्छ। 

त्यसैगरी मध्यमस्तर तथा दीर्घकालीन समयका लागि लामो समयको तथ्यांकको औसत निकालिने गरिन्छ। यो साता ५ दिने र २० दिने  मुभिङ एभरेजका आधारमा बजारलाई हेर्दा ११ डिसेम्बरको दिन बियरिस क्रसओभर बनेको छ। यसले बजारमा बिक्री दबाब अर्थात डेथ क्रस  बनेको बुझिन्छ।(हेर्नुहोस् माथि मुख्य तस्बिरमा रातो एरो)  

बोलिंगर, म्याक्डी र आरएसआईका आधारमा 

साप्ताहिक रुपमा बोलिंगर ब्यान्डको अवस्थालाई नियाल्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेर पुनः तल्लो ब्यान्डतर्फ आकर्षित हुन खोजेको देखिन्छ। 

म्याक्डीमा बजारलाई हेर्दा गत २३ अक्टोबरमा बुुलिस क्रसओभर बनेको भ्यालिड नै छ। तर, हिस्टोग्राम पोजिटिभ रहे पनि फिक्का भएका छन्। साप्ताहिक चार्टमै आरएसआई भने ३९ को तहमा रहेको छ। आरएसआई जुन महिनामा ओभर सोल्ड जोन ३० भन्दा तल आएको थियो। त्यसयता आरएसआई बढ्दो गतिमा चलेको देखिन्छ।

पिभट प्वइन्ट 

पिभट प्वइन्ट निकाल्न सुरु, अधिकतम, न्यूनतम र अन्तिम ४ वटा मूल्य आवश्यक पर्छ। यी ४ वटा मूल्यलाई जोडेर निकालिएको औसत मूल्यलाई पिभट मूल्य अर्थात विन्दु भनिन्छ। यसले बजारको प्रतिरोध र सपोर्ट खोज्न सहयोग गर्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २११६
  • प्रतिरोध २– २०५१
  • प्रतिरोध ३– २०००

पिभट प्वइन्टः  १९३६

घटेमा सपोर्ट 

  • सपोर्ट १– १८८५
  • सपोर्ट २– १८२०
  • सपोर्ट ३– १७६९

निष्कर्ष 

अघिल्लो साता ४३.१३ अंकको गिरावट आएको सेयर बजारमा यो साता झन्डै ३५ अंकले गिरावट आएको छ। यस हिसाबले यो साता बजारमा बिक्री दबाब परेको देखिन्छ। मुभिङ एभरेजमार्फत बजारलाई हेर्दा यो साता बियरिस क्रसओभर अर्थात डेथ क्रस बनेको छ। यसले बजारमा बिक्री दबाब परेको र पर्न सक्ने देखिन्छ। 

साप्ताहिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको देखिन्छ। तर, पनि बजार यो साता १८८० भन्दा माथि नै टिकेको देखिन्छ। पिभट प्वइन्टमार्फत हेर्दा बजारको आगामी साताको पहिलो सपोर्ट १८८५ मा देखिन्छ। यदि त्यहाँबाट पनि तल झरेमा बजारले १८२० दोस्रो सपोर्ट तथा १७७० तिर तेस्रो सपोर्ट लिनसक्ने देखिन्छ। बढेमा भने बजारले क्रमशः पिभट प्वइन्ट १९३६, २००० र २०५१ मा प्रतिरोध सामना गर्न सक्ने देखिन्छ।

नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।