– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। पाँच दिनमा बजार ४ दिन घट्यो भने १ दिनमात्रै झिनो अंकले बढेको छ। 

अघिल्लो साता दोस्रो बजारमा २०२२.६४ मा बन्द भएको बजार यो साता १९६९.०३ मा बन्द भएको छ। यस हिसाबले यो साता सेयर बजारमा ५३.६ अंकले गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा ४७.७७ अंकले गिरावट आएको थियो। 

यो साता बजारमा ८ अर्ब ४० करोड रुपैयाँबराबरको कारोबार भएको। यस्तो कारोबार अघिल्लो साता ८ अर्ब १४  करोड रुपैयाँबराबर भएको थियो। यस हिसाबले अघिल्लो साताको तुलनामा यो सातामा कारोबार सामान्य बढेको छ। 

साप्ताहिक हिसाबले बजारलाई हेर्दा पछिल्लोपटक लगातार ३ साता गिरावट आएको छ। 

प्राविधिक पक्ष

साप्ताहिक रुपमा बजारको विश्लेषण गर्दा विगत तीन सातादेखि बजारमा निरन्तर रुपमा गिरावट आएको छ। तीन साताको क्यान्डललाई मिलाएर नेप्सेको चार्टमा हेर्दा ‘थ्री ब्ल्याक क्रोज’ बनेको देखिन्छ। यदि चार्टमा लगातार तीनवटा बियरिस क्यान्डल बन्छन् भने त्यसलाई थ्री ब्ल्याक क्रोज भनेर बुझिन्छ (हेर्नुहोस् मुख्य तस्बिरमा)। यसले बजार केही समय साइडवेजमा जान सक्ने बुझिन्छ।  यसअघि गत भदौ महिनामा पनि यस्तै आकृति बनेको थियो। त्यसबेला बजार केही समय साइडवेज गएको थियो। 

यसविपरीत यदि चार्टमा ‘थ्री ह्वाइट सोल्डजर’ बन्छ भने बजारमा बुलिस बनेको बुझिन्छ। थ्री ह्वाइट सोल्डर बन्नका लागि लगातार तीनवटा हरिया मारुबुजु क्यान्डल चार्टमा बन्नुपर्छ। यस्ता क्यान्डल इन्ट्रा डे, दैनिक र साप्ताहिक रुपमा बन्ने गर्छन्। (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)

इचिमोकुका आधारमा 

नेप्सेको दैनिक चार्टमा इचिमोकुमार्फत बजारलाई हेर्दा सबै इन्डिकेटरले बियरिस हुँदै गएको देखिन्छ। यो साता बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेर बियरिस कन्फर्मेसन दिएको छ। २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनबाट तल झरेको छ। 

त्यसैगरी मूल्यरेखाहरु पनि क्लाउड पोजिसनभन्दा तल गएका छन्(हेर्नुहोस् हरियो एरो)। क्लाउडको पोजिसन भने हरियो नै रहेको  छ।

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा बजारको अहिलेको अवस्था हेर्दा मूल्यरेखाले केही समय पहिले सुपर ट्रेन्डलाई काटेर तल झरेका छन्। योसँगै ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको छ। यसले बजार बियरिस बनेको बुझिन्छ।

सपोर्ट एन्ड रेसिस्ट्यान्सका आधारमा 

यस आधारमा यदि बजार घट्छ भने हालको पहिलो सपोर्ट १९६० को विन्दुमा देखिन्छ। यदि बजार यहाँबाट पनि तल झर्छ भने यसअघिकै सपोर्ट विन्दु दोस्रो सपोर्ट १८५० आसपास  देखिन्छ। यदि बजार त्यहाँबाट पनि तल झर्छ भने बजारले १८१० को विन्दुमा तेस्रो सपोर्ट लिन सक्ने देखिन्छ। 

आगामी साता यदि बढ्छ भने बजारले पहिलो प्रतिरोध २०८८ मा, दोस्रो प्रतिरोध २२२१ मा र तेस्रो प्रतिरोध २३९० मा लिनेछ।

निष्कर्ष

सेयर बजारमा यो सातासँगै पछिल्लोपटक लगातार ३ साता गिरावट आएको छ। साताको दैनिक एभरेज भोलुम भनेको डेढ अर्ब देखिन्छ। यो साता लगभग ५४ अंकले गिरावट आएको। योसँगै दोस्रो बजारमा लगातार ३ साता गिरावट आएको छ। प्राविधिक रुपमा बजारलाई हेर्दा क्यान्डल स्टिकबाट हेर्दा थ्री ब्ल्याक क्रोज बनेको देखिन्छ। यो भनेको बजार केही समय साइडवेज चल्न सक्ने भन्ने हो। तर, पनि बजारलाई अन्य इन्डिकेटरबाट हेर्दा र अहिलेको हाम्रो ट्रेडर हावी भएको बजार रहेकोले १९०० देखि १९३०  सम्मको कुनै पनि विन्दुबाट बजारले सपोर्ट लिएर  फर्किन सक्छ। किनकि विगतको बजारको टे«न्ड हेर्दा मनी फ्लो इन्डेक्स तथा आरएसआई हेर्दा बजारले एकपटक ओभर सोल्ड जोन पुगेपछि भने ‘डब्ल्यू’ आकार बनाउँदै माथिको यात्रा तय गरेको पनि देखिन्छ। यस हिसाबले आगामी साताको १–२ दिनको कारोबारमा गिरावट आए पनि साताको मध्यसम्मबाट बजार सम्हालिन सक्ने सम्भावना पनि त्यत्तिकै छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।