काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले करोडौं रुपैयाँ खर्च गरी बनाएको अनलाइन कारोबार प्रणाली पूर्ण रुपमा त्रुटिपूर्ण रहेको निश्कर्ष निकाल्दै लगानीकर्ता संघसंगठनले छानबिन र कानूनी कारबाहीका लागि अर्थमन्त्रालय गुहारेका छन् ।

नेप्सेको फितलो व्यवस्थापन र कमजोर नेतृत्व तथा अनलाइन कारोबार प्रणालीको भद्रगोलपूर्ण अवस्थाले सेयर बजारप्रति नै चरम अविश्वास र आशंका बढाउने खतरा उत्पन्न भएको भन्दै लगानीकर्ताका चार संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै त्रुटिपूर्ण प्रणाली भित्र्याउने जिम्मेवार अधिकारीहरुमाथि कडा कारबाहीका लागि कानूनी कठघरामा उभ्याउन अर्थमन्त्रालयसँग माग गरेका हुन् । 

लगानीकर्ताले कारोबारको बीच समयमा एक्कासी प्रणाली नै बन्द भई त्यसपछि लगानीकर्ताहरुको किनबेच गर्न नपाएको अवस्थाले नैसर्गिक अधिकार समेत हनन् भएको प्रष्ट्याएका छन् । 

‘यस्तो कमजोर र अपूर्ण प्रणाली प्रयोगमा ल्याएर यसभन्दा अगाडि पनि पटक–पटक गम्भीर खालका समस्याहरु देखिएकोमा हामीले सुधार गर्न बारम्बार आग्रह गरेका थियौं, तर त्यसको सुनुवाई नगर्नुको परिणाम आज देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘पूँजीबजार जस्तो संवेदनशील ठाउँमा यसप्रकारको खेलवाड र गैरजिम्मेवारी प्रदर्शन गरिनुले हामीलाई आक्रोशित बनाएको छ ।’ 

यस्तो लापरबाहीबाट लगानीकर्ताले आर्थिक, मानसिक र अन्य प्रकारको क्षति भोग्नुपरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि अब कानूनी बाटोमा जाने समेत लगानीकर्ताले घोषणा गरेका छन् । 

खराब प्रणालीलाई कार्यान्वयनमा ल्याउनेहरुबाटै आफू(लगानीकर्ता)ले भोगेको क्षतिको पूर्ति भराउनुपर्ने समेत लगानीकर्ताको माग छ । 

विज्ञप्तिमा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेष्टर्स फोरमका कोषाध्यक्ष अञ्जिव तुलाधार, सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकालले हस्ताक्षर गरेका छन्  । विज्ञप्तिमा नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको नाम रहे पनि उनको हस्ताक्षर भने छैन । 

आइतबार कारोबार भइरहेको समयमा दिउँसो १२ः४१ बजेतिर नेप्सेको अनलाइन कारोबार प्रणालीले काम गर्न छाडेको थियो । त्यसपछि बन्द भएको प्रणालीले कारोबारको अन्तिम समय दिउँसो ३ बजेसम्म पनि पुनः काम गरेन । 

नेप्सेले सिस्टममा समस्या र त्यसको कनेक्सनमा समस्या भएको दाबी गर्दै आइतबार कारोबार समय नथपिएको र समस्या समाधान हुन समय लाग्ने भन्दै विज्ञप्ति निकालेपछि लगानीकर्ताका संघसंगठन आक्रोशित बनेका हुन्।