काठमाण्डौ । एकातिर सेयर बजार निरन्तर ओरालो लागेर लगानीकर्ताहरु निराशसँगै अन्यौलमा परेका छन्। अर्कोतिर सेयर बजार नियामक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रविधिले धोका दिँदा लगानीकर्ता थप प्रताडित बन्न पुगेका छन्।

नेप्सेको प्रणालीमा देखिने समस्याले आमलगानीकर्तामात्र होइन सेयर बजारको गतिविधि नजिकबाट नियाल्नेहरु पनि हैरान हुन थालेका छन्। प्रविधिको यत्रो विकास भइसक्दा पनि बजारको प्रत्यक्ष कारोबारसँगै विभिन्न कम्पनीका सूचना तथा जानकारीहरु हेर्न सकिने नेप्सेको वेबसाइट बेलैमा अपडेट नहुँदा लगानीकर्ताहरुसँगै बजारसँग सरोकार राख्ने सबैले गलत तथ्यांकको सिकार बन्नु परिरहेको छ। 

यसको पछिल्लो उदाहरण हो, हिजो बिहीबारको सेयर बजारको तथ्यांक। नेप्सेको वेबसाइटमा हिजो बजार बन्द भएर पनि घन्टौँसम्म नेप्से परिसूचक ४९.०४ अंक घटेको देखियो। तर पछि नेप्सेको वेबसाइटमा नेप्से परिसूचक ४७.४७ अंकले मात्र घटेको देखियो। 

त्यतिमात्रै होइन हिजो सेन्सेटिभ इन्डेक्स पनि ९.४६ अंकले घटेको देखिएको थियो। तर आज ९.२२ अंकले मात्रै ओरालो लागेको देखिएको छ। 

हिजो सेयर बजारको समाचार प्रकाशित गर्ने अधिकांश अनलाइन मिडियाले नेप्से परिसूचक ४९.०४ अंकले र सेन्सेटिभ इन्डेक्स ९.४६ अंकले घटेको भन्दै समाचार प्रकाशित गरेका थिए। 

सेयर बजारजस्तो संवेदनशील क्षेत्रको तथ्यांक पनि यसरी घन्टौँसम्म गलत देखिनुले लगानीकर्ताहरु नेप्से प्रणालीमाथि नै शंका गर्न थालेका छन्। ‘केही दिनअघि पनि यस्तै भएको थियो’, लगानीकर्ता उमेश थापा भन्छन्, ‘नेप्से परिसूचक १०–१५ मिनेट बजार झिनो अंकले घटेको देखिएको थियो तर पछि त बजार थोरै अंकले बढेको पो रहेछ। नेप्सेको वेबसाइट त छिटो अपडेट हुनुपर्यो नि।’

थापा नेप्सेको वेबसाइटमा गलत तथ्यांकमात्रै होइन कारोबार समयमा प्रायः नेप्सेको वेबसाइट नै नचल्ने गरेको बताउँछन्। ‘चलिहाले पनि ढिला गरी खुल्ने गरेको छ’, उनले भने, ‘बजारको यत्रो विकास भइसक्दा पनि नेप्सेको प्रणाली ज्यूँका त्यूँ रहँदा लगानीकर्ताका लागि दुर्भाग्य नै हो।’

नेप्सेको आईटी शाखाका प्रभाकर खत्रीले प्राविधिक कारणले तथ्यांकहरु अपडेट नभएको हुन सक्ने बताए। ‘बजार बन्दपछि तथ्यांकहरु अपडेट हुन ५–१० मिनेट समय लाग्छ’, उनले भने, ‘तर, हिजो किन ढिलो अपडेट भयो भन्ने विषयमा हामी हेर्छौं।’