काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आईटी शाखामा कार्यरत कर्मचारी निशा तिमिल्सिना र प्रभाकर घिमिरेले ब्रोकर तथा ठूला लगानीकर्ताहरुसँगको मिलेमतोमा नेप्से कारोबार प्रणाली (सिस्टम) बिगारी भित्री कारोबार गरेको आरोप लागेको छ। 

यी दुवै कर्मचारीले प्रणाली बिगारी भित्री कारोबार गरेको भन्दै नेप्से र सेबोनमा उजुरी परेको हो। उजुरीकर्ता डिल्ली घिमिरेले निशा र प्रभाकरलाई निलम्बन गरी कडा कारबाही गर्न माग गर्दै गत कात्तिक २८ गते नेप्सेका निमित्त प्रमुख निरन्जन फुयाललाई ई–मेलमार्फत उजुरी पठाएका थिए। तर, नेप्सेबाट आवश्यक कारबाही प्रक्रिया अगाडि नबढेपछि घिमिरेले गत मंसिर ५ गते नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र गत मंसिर १५ गते नायब कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीलाई ई–मेलमार्फत उजुरी पठाउँदै कारबाहीको माग गरेका छन्। 

निजी स्वार्थका लागि पटक–पटक प्रणाली बिगारेको, बजारका माफियाहरुको स्वार्थमा काम गरेको, कारोबारसम्बन्धी प्रमाण नष्ट गरिरहेको जानकारीमा आएको उजुरीमा उल्लेख छ। ‘भित्री कारोबार गरी  पुँजीबजारमा अपुरणीय क्षति पुर्याएकोले तुरुन्त दुवैलाई निलम्बन तथा छानबिन गरी कानुनअनुसार कडाभन्दा कडा कारबाही गरियोस’, उजुरीमा माग गरिएको छ। 

निशाले आफ्ना श्रीमानसँगको मिलोमतोमा आफ्ना भाइ निरज तिमिल्सिना (कारोबार खाता– 2021010887) र वर्षौंदेखि श्रीमान तथा परिवारको अन्य खातामार्फत ब्रोकर ४४ ले फ्रीमा उपलब्ध गराएको १ करोडभन्दा बढीको कारोबार लिमिट (हाल करिब ९० लाख  रहेको भन्ने जानकारीमा आएको) प्रयोग गरी कारोबार गर्दै आएको उजुरीमा दाबी गरिएको छ। ‘निशाको कोरोबारका बारे ब्रोकरसमेत जानकार रहेकोले ब्रोकरलाई समेत कारबाही गरियोस्’, उजुरीमा माग गरिएको छ, ‘दुवै श्रीमान र श्रीमती पोखरा भ्रमणमा रहेको समयमा २०७७ फागुन २ गते प्रणालीमा अनिधिकृत पहुँच पुर्याई  कोरोबार  गरेको भन्ने जानकारी सुन्नमा आएकोले सोलगायत सम्पूर्ण कारोबारको पुष्टि गरियोस्।’

निशाका श्रीमानले आफू कार्यरत softwarica college of IT बाट श्रीमतीको सहयोगमा निरन्तर कारोबार प्रणालीमा पहुँच राखी भित्री कारोबारमा संलग्न रही करोडौँको सेयर किनबेच गरेको भन्ने बजारमा जानकारी रहेको पनि उजुरीमा उल्लेख छ। ‘आफूले गरेको कारोबार तथा केवाईसीसम्बन्धी विवरणहरु परिवर्तन तथा नष्ट गरिरहेको भन्ने सुन्नमा आएकोले तुरुन्त निलम्बन गरी कारबाही गरियोस्’, उजुरीमा भनिएको छ। 

यसैगरी प्रभाकर घिमिरेले आफ्नो बहिनी प्रतिभा घिमिरे (कारोबार खाता–2020112577) मार्फत ब्रोकरसँगको मिलेमतोमा ब्रोकर ४१ बाट कारोबार गर्दै आएको बजारमा सुन्नमा आएको उजुरीमा जानकारी गराइएको छ। प्रभाकारले समेत ब्रोकरबाट फ्रीमा कारोबार लिमिट (हाल निज आफैँले परिवर्तन गरी शून्य गरेको जानकारीमा आएको) लगायत अन्य सेवा प्राप्त गर्ने र सट्टामा निजले भित्री कारोबार तथा अन्य महत्वपूर्ण सूचना ब्रोकरलाई निरन्तर उपलब्ध गराउने गरेको उजुरीमा दाबी गरिएको छ। ‘बहिनीबाहेक अन्य खाताबाट समेत प्रभाकरले कारोबार गर्दै आएको जानकारी बजारमा रहेको हँुदा सोको पनि छानबिन गरियोस्’, उजुरीमा उल्लेख छ, ‘आफूले गरेको कारोबार तथा केवाईसीसम्बन्धी अन्य  विवरणहरु परिवर्तन तथा नष्ट गरिरहेको भन्ने सुन्नमा आएकोले निजलाई समेत तुरुन्त निलम्बन गरी कारबाही गरियोस्।’  

आईटीमा कार्यरत यी दुई कर्मचारीबाहेक नेप्से तथा वाइकोका कर्मचारीहरुले समेत निरन्तर रुपमा अवैध कारोबार तथा अन्य अवान्छित गतिविधि गरिरहेको भन्ने जानकारी प्राप्त भएको उजुरीमा दाबी गरिएको छ। ‘यस विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषी ठहरेमा कारबाही गरियोस्’, उजुरीमा माग गरिएको छ। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले निशा र प्रभाकर नेप्सेको आईटी शाखामा कार्यरत रहेको पुष्टि गरेको छ। तर उनीहरुमाथि लागेको आरोपमा विषयमा उनले अनभिज्ञता प्रकट गरे। ‘नेप्सेमा उनीहरुविरुद्ध उजुरी परेको थाहा भएन’, उनले भने।

सेबोनका कार्यकारी निर्देशक निरज गिरीले आफू यस विषयमा सुनेको तर यकिन जानकारी नभएको बताए। ‘यदि त्यसो गरेको हो भने पहिले उनीहरुलाई नेप्सेले नै छानबिन गर्नुपर्छ, त्यसपछि मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने हो’, उनले भने, ‘भित्री कारोबार संलग्न जोकोहीमाथि कारबाही हुनुपर्छ।’