– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो। बजार १ दिन बढ्यो भने ४ दिन घट्यो। 

अघिल्लो साता २०४८.१६ मा बन्द भएको बजार यो साता १९७१.३८ मा बन्द भएको छ। यस हिसाबले यो साताभरि बजारमा ७६.७८ अंकको गिरावट आएको छ। यो भनेको अघिल्लो साताको तुलनामा बजार लगभग ४५ अंकले बढीले घटेको हो। 

यो साता कारोबारमा पनि गिरावट आएको छ। यो साताभरि जम्मा साढे ५ अर्ब रुपैयाँमात्रै कारोबार भएको छ। अघिल्लो साताभरि ६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। 

प्राविधिक पक्ष

क्यान्डल स्टिकका आधारमा

साप्ताहिक रुपमा बजारको विश्लोषण गर्नुपर्दा यो साता क्यान्डल स्टिकमा बियारिस मारुबुजु क्यान्डल बनेको छ। यसले यो साता पनि बजारमा बिक्रीकर्ता हावी भएको बुझिन्छ। 

त्यसैगरी नेप्सेको दैनिक चार्टमा यो साता बनेका अन्तिम ३ क्यान्डललाई मिलाएर हेर्दा ‘थ्रीस्टार इन द साउथ’ बनेको छ। यदि लामो गिरावटपछि चार्टमा यस्तो क्यान्डल बन्छ भने त्यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। तीनवटा क्यान्डललाई मिलाएर हेर्दा यदि पहिलोभन्दा दोस्रो छोटो र दोस्रोभन्दा तेस्रो छोटो क्यान्डल बन्छ भने त्यसलाई थ्री स्टार इन द साउथ भनेर बुभिन्छ। यस्तो अवस्थामा बजार ८६ प्रतिशत माथि जाने र १४ प्रतिशत बजार तल झर्ने सम्भावना हुन्छ।(माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधार 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपात पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २७३७ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २४२४ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २१९० को विन्दुसम्म तथा ०.६१ प्रतिशतको टेवामा १९३८ को विन्दुसम्म आउन सक्छ। 

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा

साप्ताहिक रुपमा बजारको बोलिंगर ब्यान्डलाई हेर्ने हो भने अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी झन्–झन् बढेको देखिन्छ। मूल्यरेखाहरु तल्लो ब्यान्डमा सीमित छन्। यसले बजारमा बिक्री दबाब रहेको देखिन्छ। 

म्याक्डीमा गत २७ फेब्रुअरीमा बियरिस क्रसओभर बनेको हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम लामा–लामा बोल्ड बनेका छन्। यसले साप्ताहिक रुपमा बजारमा कुनै सुधार नआएको बुझिन्छ। 

आरएसआई २६ को ओभर सोल्ड जोनमा आएको छ। 

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २२१७
  • प्रतिरोध २– २४०९
  • प्रतिरोध ३– २५७१

पिभट प्वइन्ट : २२१७

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०४६
  • सपोर्ट २– १९५५
  • सपोर्ट ३– १७८३

निष्कर्ष

साप्ताहिक रुपमा बजारको विश्लेषण गर्नुपर्दा यो साता पनि बजार बियरिस नै देखिन्छ। अघिल्लो साताभन्दा कारोबार, भोलुम र सूचक सबैमा गिरावट आएको छ। यो साता बजार फिवोनासीको ०.६१ को तल १९३८ को न्यून विन्दुबाट केही अंक बढेर यो साता १९७१ को तहमा आएर बन्द भएको छ। यो हिसाबले बजार अब निरन्तर गिरावटपछि केही समय साइडवेजमा चलेर माथि जान सक्ने अनुमान लगाउन सकिन्छ। त्यसैगरी नेप्सेको दैनिक चार्टमा थ्री स्टार इन द साउथ बनेको छ। यसले बजार घट्ने क्रममा ब्रेक लाग्न सक्ने बुझिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कारोबारका लागि सिफारिस भने होइन।