– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । लगातार गिरावटपछि सेयर बजारले अघिल्लो साताको शुक्रबारदेखि करिब १८०८ को विन्दुबाट उकालो यात्रा तय गरेको छ। योसँगै बजारमा न्यून विन्दुबाट करिब २०० अंकको बढोत्तरी आएको छ। अब बजारले विस्तारै यूटर्न लिन थालेको बजार जानकारहरुको मत रहेको छ। 

यसै सिलसिलामा आज हामीले बजारको साप्ताहिक अपडेटसहित बजारको प्राविधिक पक्षलाई केलाउन कोसिस गरेका छौँ।

यो साता सेयर बजारमा ६ दिन कारोबार भयो। ६ दिनमा बजार ३ दिन घट्यो ३ दिनमा बढ्यो। समग्रमा बजार यो साता १६६.७ अंकले बढेको छ। 

यो साता कारोबारमा पनि उल्लेखनीय सुधार आएको छ।  यो साताभरि १० अर्ब ५० करोड रुपैयाँबराबर कारोबार भएको छ। अघिल्लो साता बजारमा जम्मा ७ अर्बबराबर कारोबार भएको थियो। 

यो साता कारोबार र सूचक दुवैमा सुधार आएको छ।

यो साताको चार्ट प्याट्रनलाई नियाल्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएर अघिल्लो साता तल छोटो पुच्छरसहितको रातो  क्यान्डल बनेको थियो। यो साता भने हरियो लामो बुलिस मारुबुजु क्यान्डल बनेको छ। दुई क्यान्डललाई मिलएर हेर्दा साप्ताहिक चार्टमा बुलिस इन्गिल्फिङ क्यान्डल बनेको छ। (हेर्नुहोस् बोलिंगर ब्यान्डमा दोस्रो हरियो एरो) 

यसले बजारमा भविष्यमा बढोत्तरी आउन सक्ने देखिन्छ। यसको भ्यालिडिटी ८० प्रतिशत रहेको छ। 

केही समयपहिला पनि यस्तै क्यान्डल बन्दा बजारमा बढोत्तरी आएको थियो। (हेर्नुहोस् पहिलो हरियो क्यान्डल) 

त्यसैगरी साप्ताहिक रुपमै म्याक्डीमा बियरिस क्रसओभर अझै भ्यालिड रहेको पाइन्छ भने हिस्टोग्राम विस्तारै छोटो हुँदै गएको पाइन्छ। 

साप्ताहिक रुपमा नै आरएसआई ओभर सोल्ड जोन २६ बाट फर्केर हाल ३५ को तहमा पुगेको छ। यसले बजार बढ्दो गतिमा रहेको पाइन्छ।

फिवोनासीका आधारमा आगामी साता यदि बजारमा करेक्सन आउँछ भने ०.२३ प्रतिशतको पहिलो सपोर्ट १९९५ को विन्दुमा, देस्रो सपोर्ट ०.३८ प्रतिशतको १९६० को विन्दुमा र तेस्रो सपोर्ट ०.५ प्रतिशतको १९३१ विन्दुमा र चौथो सपोर्ट भनेको ०.६१ प्रतिशतको सर्पोट भनेको १९०२ को विन्दुमा हुन सक्ने देखिन्छ। 

यदि आगामी कारोबारमा बजारले २०५२ को विन्दुभन्दा माथि–माथि नै कारोबार गर्छ भने त्यसपछिको नजिकको प्रतिरोध २११५ को विन्दुमा र त्यसपछिको प्रतिरोध भने २२५० को विन्दु र २३९०  को विन्दुमात्रै क्रमशः हुन सक्ने देखिन्छ। 

निष्कर्ष

लामो समयपछिको गिरावटपछि  बजारमा न्यून विन्दुबाट २०० अंकको र साप्ताहिक रुपमा झन्डै ७२ अंकको बढोत्तरी भएको छ। कारोबार र भोलुमका आधारमा पनि यो साता अघिल्लो साताको तुलनामा ३ अर्ब रुपैयाँ बढीले कारोबार भएको देखिन्छ। प्राविधिक रुपमा बजार साप्ताहिक चार्टमा नै बुलिस इन्गल्फिङ प्याट्रन बनेको देखिन्छ। अहिलेसम्मको चार्टले बनाएको अवस्थालाई आधार मानेर भन्ने हो भने बजारले आगामी साता पनि बढोत्तरीले निरन्तरता पाउन सक्ने प्रबल सम्भावना देखिन्छ।