– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ३ दिन बजार घट्यो भने २ दिन बढेको छ। आज शुक्रबार इन्द्रजात्राका अवसरमा सार्वजनिक बिदा दिइएकोले बजार बन्द रह्यो। 

गत साता १९७०.६२ मा बन्द भएको बजार यो साता १९३७.७४ मा बन्द भएको छ। यो हिसाबले यो साता बजारमा ३.८८ अंकले गिरावट आएको छ। गत साता पनि बजारमा ५२ अंकले गिरावट आएको थियो।

यो साताको ५ कारोबार दिनमा बजारमा ४ अर्ब ९५ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ। गत साताको ६ कारोबार दिनमा ७ अर्ब ४६ लाख रुपैयाँबराबर सेयर किनबेच भएको थियो। अघिल्लो साता भने ९ अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। यो हिसाबले बजारमा सूचकसँगै कारोबार पनि गिरावट आएको देखिन्छ। 

प्राविधिक पक्ष

साप्ताहिक रुपमा बजारको विश्लेषण गर्दा विगत तीन सातादेखि बजारमा निरन्तर रुपमा गिरावट आएको छ। तीन साताको क्यान्डललाई मिलाएर नेप्सेको चार्टमा हेर्दा ‘थ्री ब्ल्याक क्रोज’ बनेको देखिन्छ। यदि चार्टमा लगातार  तीनवटा बियरिस क्यान्डल बन्छन् भने त्यसलाई थ्री ब्ल्याक क्रोज भनेर बुझिन्छ (हेर्नुहोस् मुख्य तस्बिरमा)। यसले बजार लामो समय साइडवेजमा जान सक्ने बुझिन्छ। 

यसविपरीत यदि चार्टमा ‘थ्री ह्वाइट सोल्डजर’ बन्छ भने  भने बजारमा बुलिस बनेको बुझिन्छ। थ्री ह्वाइट सोल्डर बन्नका लागि लगातार तीनवटा हरिया मारुबुजु क्यान्डल चार्टमा बन्नुपर्छ। यस्ता क्यान्डल इन्ट्रा डे, दैनिक र साप्ताहिक रुपमा बन्ने गर्छन्। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डका आधारमा बजारको अहिलेको अवस्था हेर्दा मूल्यरेखाले केही समयपहिले सुपर ट्रेन्डलाई काटेर तल झरेका छन्। योसँगै ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको छ। यसले बजार बियरिस बनेको बुझिन्छ। 

इचिमोकुका आधारमा 

नेप्सेको दैनिक चार्टमा इचिमोकुमार्फत बजारलाई हेर्दा सबै इन्डिकेटरले बियरिस हुँदै गएको देखिन्छ। गत साता नै बेस लाइनलाई कन्भर्जन लाइनले काटेर बियरिस कन्फर्मेसन दिएको थियो। २६ दिन पछाडि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसनबाट तल झरेको छ। क्लाउडको पोजिसन पनि हरियोबाट रातो बनेको छ। 

सपोर्ट एन्ड रेसिस्ट्यान्सका आधारमा 

यस आधारमा यदि बजार घट्छ भने पहिलो सपोर्ट २००६ को विन्दुमा थियो। तर, बजारले यो विन्दुलाई ब्रेक गरेर तल झरेकोले अबको दोस्रो सपोर्ट १९०८ मा देखिन्छ। यदि बजार त्यहाँबाट पनि तल झर्छ भने बजारले १८०६ को विन्दुमा तेस्रो सपोर्ट लिन सक्ने देखिन्छ। 
आगामी साता यदि बढ्छ भने बजारले पहिलो प्रतिरोध २०८८ मा, दोस्रो प्रतिरोध २१४३ मा र तेस्रो प्रतिरोध २२२१ मा लिनेछ। 

निष्कर्ष

विगत तीन सातादेखि क्रमिक रुपमा घटेको बजारमा यो साता पनि गिरावट जारी रह्यो। साप्ताहिक रुपमा घट्ने क्रम कमी आएकोले र भोलुम पनि घटेका कारण बजारले आगामी साता यूटर्न लिन सक्ने सम्भावना पनि बजारमा देखिन्छ। 

अबको दोस्रो सपोर्ट १९०६ मा रहेकोले अबको केही अंक गिरावटपछि बजार विस्तारै सम्हालिन सक्ने सम्भावना पनि रहन्छ। आगामी कारोबारमा यदि बजार गत साताको न्यून विन्दु १९२७ भन्दा तल बन्द भएमा बिक्री दबाब र १९५० भन्दा माथि–माथि कारोबार भएर बन्द भएमा अप ट्रेन्डको यात्रा तय गर्दै गरेको बझिनेछ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।