– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आइतबार सूचना प्रकाशन गर्दै ४५ दिनभित्र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन आह्वान गरेको छ। 

सीमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर गरी तीन प्रकारको लाइसेन्स दिने सेबोनको तयारी छ। तर, कतिवटा ब्रोकर लाइसेन्स दिने भन्ने सेबोनले अहिलेसम्म कुनै पनि किसिमको निर्णय गरेको छैन।

नेप्सेले पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदको कार्यकालमा वित्तीय विज्ञहरुद्वारा भएको अध्ययनले मुलुकभर १७८ ब्रोकर थप्न सकिने सुझाव दिएको थियो। अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश १ मा ३०, मधेस प्रदेशमा ३३, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा २५, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १५ गरी कुल १७८ वटा ब्रोकर संख्या थप्न सकिन्छ।’

सेबोनले नियमावली संशोधन गरी नेप्सेको मातहतमा रहेको नयाँ ब्रोकर लाइसेन्ससम्बन्धी अध्ययनदेखि ब्रोकर संख्यासम्म निर्धारण गर्ने सम्पूर्ण अधिकार आफैँले लगेको छ। त्यसैले नियमावली संशोधन भएसँगै अब ब्रोकर संख्याबारे सेबोनले नै निर्णय गर्ने छ।

सेबोनका एक उच्च अधिकारीका अनुसार सेबोनले निर्धारण गरेको चुक्तापुँजी, सञ्चालक योग्यता, संस्था प्रमुखको योग्यता, अनुमति प्रदानसम्बन्धी दस्तुर र सूचना प्रविधि पाँच मापदण्ड पुर्याउने योग्य सबैलाई ब्रोकर लाइसेन्स दिने तयारी रहेको बताए। ‘केही दिनअघि सेबोनले प्रकाशन गरेको सूचनामा एउटा स्टक एक्सचेन्ज र दुईवटा कमोडिटिज एक्सचेन्जका लागि आह्वान भनेर प्रस्टसँग उल्लेख छ’, ती अधिकारीले भने, ‘तर, ब्रोकर लाइसेन्सको संख्याबारे केही पनि उल्लेख गरिएको छैन, त्यसैले योग्य सबैलाई ब्रोकर लाइसेन्स दिने सेबोनको तयारी रहेको छ।’

सेबोन अध्यक्ष रमेशकुमार हमालले पनि ‘फ्री इन्ट्री, फ्री एक्जिट’ मार्फत योग्य सबैलाई ब्रोकर लाइसेन्स दिने भनेका थिए। ‘त्यसैले सेबोनबाट यतिवटा ब्रोकर लाइसेन्स दिने भनेर अहिलेसम्म कुनै पनि निर्णय गरेको छैन’, ती कर्मचारीले भने।