काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेसँगै अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भूमिकाका विषयमा व्यापक चर्चा चलिरहेको छ। 

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को पाँचौँ संशोधनसँगै सेबोनले गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ। धितोपत्रसम्बन्धी ऐन तथा नियमावलीबमोजिम योग्यता पुगेका संस्थालाई ३० दिनभित्र आवेदन दिन सेबोनले आह्वान गरेको छ। 

सेबोनले आफैँले ब्रोकर लाइसेन्सको आवेदन खुला गरेपछि नेप्सेको अधिकार खोसिएको चर्चा बजारमा व्यापक छ। किनकि यसअघिको नियमावलीअनुसार नेप्सेले ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गर्ने र योग्य संस्था छनोट गरी ब्रोकर लाइसेन्स दिन सेबोनलाई सिफारिस गर्ने प्रावधान थियो। 

यसअघिको नियमावली, २०६४ दफा ३ मा नेप्सेलाई ब्रोकर लाइसेन्सका लागि आवेदन खोल्ने र छनोट गरी अनुमति दिन सेबोनलाई सिफारिस गर्ने अधिकार दिइएको थियो। तर संशोधित नियमावली, २०७९ मा भने यो दफाअन्तर्गत अब सेबोनले ब्रोकर लाइसेन्सको आवेदन खुला गर्ने र योग्य संस्था छनोट गरी अनुमति दिने प्रावधान ल्याइएको छ। 

सेबोनका एक उच्च अधिकारीले पनि नयाँ ब्रोकर लाइसेन्स अनुमति दिन अब सेबोनले नै आवेदन खुला गर्ने र योग्य संस्था छनोट गरी अनुमति दिने अधिकार पाएको बताए। ‘यसअघि नेप्सेले आवेदन खुला गर्ने र योग्य संस्था छनोट गरी लाइसेन्स दिन सेबोनलाई सिफारिस गथ्र्यो’, ती अधिकारीले भने, ‘अहिलेको संशोधित नियमावली त्यो व्यवस्था हटाइएको छ तर नेप्सेको भूमिका पनि हुन्छ। किनकि ब्रोकर लाइसेन्स पाएका संस्थाले नेप्सेबाट कारोबार सञ्चालनको अनुमति पनि लिनुपर्छ।’

ती अधिकारीका अनुसार अब सेबोनले नै योग्य संस्था छनोट गरी ब्रोकर लाइसेन्स वितरण गर्दै नेप्सेलाई कारोबार सञ्चालनको अनुमति दिन सिफारिस गर्छ। ‘लाइसेन्स पाएका संस्थाहरुले १५ दिनभित्र नेप्सेबाट धितोपत्र कारोबार सञ्चालनका लागि अनुमति लिनुपर्नेछ’, उनले भने।

ती अधिकारीले हाललाई यति नै ब्रोकर लाइसेन्स वितरण गर्ने भनेर संख्या नतोकिएको बताए। ‘योग्यता पुगेका सबैलाई ब्रोकर लाइसेन्स दिने सेबोनको योजना छ’, ती अधिकारीले भने।