काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको स्पष्ट पारेको छ। 

सेबोनले एक विज्ञप्ति जारी गर्दै हालै केही अनलाइन सञ्चारमाध्यमहरुमा नेप्सेको तथ्यांकको शुल्क सम्बन्धमा सेबोनबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको भन्ने समाचार तथ्यहीन र भ्रामक रहेको स्पष्ट पारेको हो। ‘यससम्बन्धमा सेबोनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ। 

धितोपत्र कारोबार भएपश्चात उपलब्ध हुने तथ्यांक तथा जानकारी दिनेसम्बन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यविधि बनाई लागू गर्न सक्ने सेबोनले जनाएको छ। ‘नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोबार भएपश्चातको तथ्यांक तथा जानकारी उपलब्ध गराएबापत कुनै शुल्क लिने व्यवस्था भएमा सेबोनबाट स्वीकृति लिएरमात्र लिन पाइन्छ’, विज्ञप्तिमा भनिएको छ। 

सोही व्यवस्थाबमोजिम नेप्सेबाट सेबोनमा पेस भएको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७ मा उल्लेखित शुल्कहरु नेप्सेबाट स्वीकृतिका लागि सेबोनसमक्ष प्रस्ताव गरिएबमोजिम यथावत नै रहने गरी स्वीकृति गरिएको विज्ञप्तिमा जनाइएको छ।