काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट निष्कासित कुल ५० अर्ब रुपैयाँका तीनवटा विकास ऋणपत्र आइतबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

केन्द्रीय बैंकले निष्कासन गरेका नेपाल सरकारको विकास ऋणपत्र २०८६ ‘घ’, २०८४ ‘घ’ र २०८७ ‘घ’ आइतबारबाट कारोबारमा आउने भएको हो। यी तीनवटै ऋणपत्र आज शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएका छन्। कुनै पनि धितोपत्र नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबारमा आउने भएकाले यी ऋणपत्रहरु पनि अब आइतबारबाट कारोबारमा आउने भएका हुन्।

विकास ऋणपत्र–२०८६ ‘घ’ ९ वर्षे अवधिको हो। कुल २० अर्बको यो ऋणपत्रमा लगानीकर्ताहरुले ४.७७ प्रतिशत ब्याज पाउनेछन्। यो ऋणपत्र २०७७ असोज १२ गते निष्कासन भएकोमा साँवा भुक्तानी २०८६ असोज १२ गते हुनेछ।

त्यस्तै विकास ऋणपत्र–२०८४ ‘घ’ ७ वर्षे अवधिको हो। कुल १० अर्ब रुपैयाँको यो ऋणपत्रको ब्याजदर ४.१४ प्रतिशत रहेको छ। यो ऋणपत्र २०७७ असोज २१ गते निष्कासन भएकोमा साँवा भुक्तानी २०८४ असोज २१ गते हुनेछ।

यसैगरी विकास ऋणपत्र–२०८७ ‘घ’ १० वर्षे अवधिको हो। कुल २० अर्ब रुपैयाँको यो ऋणपत्रको ब्याजदर ४.१४ प्रतिशत रहेको छ। २०७७ कात्तिक २० गते निष्कासित यो ऋणपत्रको साँवा भुक्तानी २०८७ कात्तिक २० गते हुनेछ।

यी तीनै ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ।