काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख चन्द्रसिंह साउदले नेप्से परिसूचक र कारोबारले अलटाइम हाईको नयाँ कीर्तिमान बनाएको उपलक्ष्यमा आपसमा मिठाई बाँडेर खुशी साटासाट गर्न आह्वान गरेका छन् । 

'तपाई हामी सबैको सामूहिक प्रयासले नेप्सेमा आज नयाँ इतिहास रचिएको छ ।' साउदले बिजशालासँग भने-'यो अवसरमा नेप्सेका कर्मचारी, नियामकका कर्मचारी, ब्रोकर, लगानीकर्ता र मिडियाकर्मी सबैलाई आपसमा मिठाई बाँडेर खुशियाली मनाउन आह्वान गर्छु ।' 

उनले नेप्सेका लागि ऐतिहासिक दिन भएकोले समेत यसलाई विशेष दिनको रुपमा मनाउनुपर्नेमा जोड दिए । 

सीइओ साउदले बजारको हालको उछाल सुरुवात मात्र भएको जिकिर दोहोर्याए । 'यो त सुरुवात मात्र हो । बजार अझै बढ्छ ।' साउदले भने-'कारोबार रकम पनि अझै बढ्छ ।' 

साउदको भनाईमा कारोबार रकम अब चाँडै १० अर्ब पुग्ने अवस्था देखिएको छ। बजारको बढोत्तरी पनि यत्तिमै सीमित नहुने उनको भनाई छ । 

'एकैदिन ७ अर्ब बढीको कारोबारको रेकर्ड बन्यो । यो सबै पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको देन हो ।' उनले भने-'अनलाइन प्रणाली नभएको भए यति धेरै कारोबार हुन संभव नै थिएन ।' 

उनका अनुसार पछिल्ला दिनमा बजारमा कारोबार गर्ने कुल लगानीकर्तामध्ये ९० प्रतिशत हाराहारीले अनलाइन चलाइरहेका छन् ।