काठमाण्डौ । संघीय संसदको अर्थसमितिले राष्ट्रबैंकको अस्थिर नीतिका कारण सेयर बजारमा अप्रत्यासित गिरावट आएको गुनासो बढेपछि गभर्नरलाई बोलाएको छ । 

शुक्रबारसम्ममा नेपाल राष्ट्रबैंकका गभर्नरलाई छलफलका लागि बोलाइएको संघीय संसद अन्तर्गतको अर्थसमितिका सभापति कृष्ण दाहालले जानकारी दिए । 

उनकाअनुसार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाका कारण सेयर बजारमा भीषण पहिरो गएपछि चासो देखाइएको हो । यही शुक्रबारसम्म सबै संसद र नेपाल राष्ट्र बैंकलाई समेत बैठकमा डाकी बजार घटेको विषयमा छलफल हुन लागेको सभापतिले दाहालले बिजशालालाई जानकारी दिए ।

‘हल्लाकै भरमा बजार घटेको हो वा मौद्रिक नीतिको समीक्षाका कारण बजारमा भीषण पहिरो गएको हो, यस विषयमा जान्न हामीले चाहेका हौं।’सभापति दाहाल भन्छन् ।

पछिल्लो समय संघीय संसदको अर्थसमितिले पूँजीबजारलाई पनि विशेष प्राथमिकता दिँदै सेयर बजारलाई नजिकबाट नियाल्नु निकै सकारात्मक भएको जानकारहरु बताउँछन् । मिनी संसदको रुपमा हेरिने अर्थसमितिको यो चासोलाई पूँजीबजारको समग्र विकास र विस्तारप्रति राजनीतिक नेतृत्वले समेत चासो दिइरहेको र राज्यले समेत पूँजीबजारलाई प्राथमिकतामा राखेको बुझ्न सकिन्छ ।