काठमाण्डौ । लगातार २ दिन घटेको बजारमा आज मंगलबार सुधार आएको छ। 

बजार आज २.६८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २६६४.६१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक ०.५० अंकले बढेर ४७९.६० को उचाइमा पुगेको छ। आज कारोबार रकम भने घटेर साढे ५ अर्ब रुपैयाँ बढीको भएको छ।

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल पछिल्लो दुई करेक्सनले बजार झनै परिपक्व बन्दै गएको बताउँछन्। ‘बजार लगातार बढिरहेको थियो, दुई दिनको करेक्सनपछि बजार आज फेरि लयमा फर्केको छ’, उनले भने, ‘अहिलेको मुभमेन्टलाई ध्यान दिने हो भने बजार नयाँ उचाइतिर लम्किरहेको प्रस्ट हुन्छ।’

बजार आगामी दिनमा बढ्नेमा ढकालले केही आधारहरु पनि पेस गरेका छन्। उनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमास रिपोर्ट राम्रै आइरहनुले बजार अब माथि नै जान्छ। कम्पनीहरुको लाभांश घोषणा हुने समय नजिकिँदै जानुले पनि बजार सकारात्मक नै हुने ढकालको भनाइ छ। 

केही दिनयता कोरोनाको सन्त्रास बढ्नुले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहँदा पनि कारोबार रकम बढ्न नसकेको ढकालको तर्क छ। ‘तर केही गरी कोरोना बढिहालेमा अन्य क्षेत्रको लगानी सेयर बजारमै भित्रिने हो’, उनले भने, ‘अनि बजार माथि नै जाने हो।’ 

सक्रिय लगानीकर्ता मनीष चुडाल कोरोनाको त्रासकै कारण बजारमा केही दिन करेक्सन आएको बताउँछन्। ‘आज बजार फेरि सकारात्मक बनेको छ’, उनले भने, ‘कोरोनाले अन्य क्षेत्र प्रभावित हुने भए पनि सेयर बजारमा खासै असर गर्दैन। किनकि बजार प्रविधिमैत्री हुँदै गएको छ। लगानीकर्ताहरुले घरमै बसीबसी कारोबार गर्न सक्छन्। त्यसैले बजारमा थप लगानी भित्रिन्छ र माथि नै जान्छ।’

बैंकहरुको ब्याजदर एकल विन्दुमै रहेको र आधार दर पनि घटेका कारण बजार बढ्न मद्दत पुगिरहेको चुडालले बताए। 
आज नेप्से उपसमूहमा रहेका १३ समूहमध्ये ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ५३.९८ अंकले उकालो लागेको छ। विकास बैंक समूह ४८.४२ अंकले बढेको आज व्यापार समूहमा ३४.३२ अंक, होटेल तथा पर्यटन समूहमा १.६५ अंक, जलविद्युत समूहमा ३१.७७ अंक, वित्त समूहमा ४.८८ अंक, उत्पादन तथा प्रशोधन समूहमा ५.८७ अंक, अन्य समूहमा ४.५ अंक र लघुवित्त समूहमा ६.१९ अंकको बढोत्तरी भएको छ।

आज निर्जीवन बीमा समूह सर्वाधिक २४.३९ अंकले ओरालो लागेको छ। बैंकिङ समूह १.३७ अंकले घटेको यो दिन म्युचुअल फन्ड समूहमा ०.०४ अंक र लगानी समूहमा १.०५ अंकले गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता सेयर ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रुपैयाँमा कारोबार भएका छन्। 

यो दिन नागरिक लगानी कोषको सबैभन्दा बढी २१ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको १९ करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको १५ करोड ८२ लाख रुपैयाँ, एनआईसी एसिया लघुवित्तको १५ करोड ६४ लाख रुपैयाँ, अरुण काबेली पावरको १४ करोड ३३ लाख रुपैयाँ, सिटिजन्स बैंकको १४ करोड रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड ३८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १० करोड ९६ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १० करोड ९७ लाख रुपैयाँ र मुक्तिनाथ विकास बैंकको १० करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन युनाइटेड मोदी हाइड्रोपावर र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा ज्योति लाइफ र हिमालयन ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। 

आज समृद्धि फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ २ प्रतिशत बढीले ओरालो लागेको छ।