काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ।

आज बजार १५.८० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २६४८.०१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२१ अंकले बढेर ४७६.६० को उचाइमा पुगेको छ। आज कारोबार रकम पौने ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार गोविन्दप्रसाद घिमिरे लगातार घटेकोले आज बजार बढ्नुलाई सकारात्मक लिनुपर्ने बताउँछन्। ‘अझै पनि कारोबार सन्तोषजनक नरहेकोले बजारमा आगामी साता केही दिन अझै करेक्सन आउने देखिन्छ’, उनले भने।

लगानीकर्ताबीच कोरोनाले कस्तो अवस्था सिर्जना गर्ला भन्ने त्रास रहेकै कारण सेयर किनबेच बढ्न नसकेको घिमिरेको भनाइ छ। ‘१०–११ अर्ब रुपैयाँ कारोबार हुँदा प्रफिट बुक गरेर निस्केकाहरु बजारमा फर्किएका छैनन्’, उनले भने, ‘अझै पनि ठूला लगानीकर्ताहरु पर्ख र हेरकै अवस्थामा छन्।’

अहिले लगानीकर्ताहरु ठूला बैंकहरुको त्रैमासिक रिपोर्टको प्रतीक्षामा रहेको हुन सक्ने घिमिरेको तर्क छ। उनले भने, ‘बजारको अबको दिशा आगामी १–२ दिनको कारोबारबाट निक्र्यौल गर्न सकिन्छ।’

बजारले अहिले खरिदको अवसर भने दिइरहेको घिमिरेको भनाइ छ। ‘कम्पनीको वित्तीय अवस्था हेर लगानीकर्ता भविष्यमा राम्रै प्रतिफल निकाल्न सकिन्छ’, उनले भने। 

अर्का बजार जानकार मेघनाथ निरौला आजको बजार बढाइलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन्। ‘सोचेजस्तो बजार बढ्न बाँकी नै छ’, उनले भने। 

बजारमा देखिएको अहिलेको अन्यौलता कोरोना महामारी र राजनीतिक अनिश्चितताले नै रहेको निरौलाको भनाइ छ। ‘अझै बजारमा १–२ दिन करेन्सन आउने देखिन्छ’, उनले भने, ‘अझै ५०–६० अंकले तल झरेपछि बजार माथि नै जान्छ।’

अहिलेको अवस्थामा पोर्टफोलियो मिलाएर लगानी गर्नुपर्ने निरौलाको सुझाव छ। 

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा मात्रै रातो पोतिएको छ।

आज निर्जीवन बीमा समूह सर्वाधिक ११४.९ अंकले उकालो लागेको छ। जीवन बीमा समूह ११४.०६ अंकले बढेको आज बैंकिङ समूहमा ९.२२ अंक, व्यापार समूहमा ११.१२ अंक, विकास बैंक समूहमा ३८.१७ अंक, जलविद्युत् समूहमा ४.९८ अंक, वित्त समूहमा १.४१ अंक, उत्पादन तथा प्रशोधन समूहमा ४७.२८ अंक, अन्य समूहमा २१.३१ अंक, लघुवित्त समूहमा ५३.१९ अंक र लगानी समूहमा ०.१७ अंकको बढोत्तरी भएको छ।

आज होटेल तथा पर्यटन समूह ५२.९२ अंकले घट्दा म्युचुअल फन्ड समूहमा ०.०६ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१४ कम्पनीका १ करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन एनसीसी बैंकको सर्वाधिक ६२ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। निफ्राको २५ करोड ८७ लाख रुपैयाँबराबरको कारोबार भएको आज एनआईसी एसिया लघुवित्तको २१ करोड ३५ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १९ करोड ५३ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड २२ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १३ करोड ४८ लाख रुपैयाँ, नागरिक लगानी कोषको १२ करोड ४९ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ११ करोड २१ लाख रुपैयाँ, ज्योति लाइफ इन्स्योरेन्सको ११ करोड १० लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १० करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी र सिन्धु बैंकको सेयरमूल्यमा १० प्रतिशत तथा महिला लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति लाइफ इन्स्योरेन्स र एनसीसी बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेरमूल्य ३ प्रतिशत बढीले ओरालो लागेको छ।