काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा सामान्य करेक्सन आएको छ। 

बजारमा आज १२.३६ अंकको करेक्सन आएको छ। योसँगै नेप्से परिसूचक २६५२.७५ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्सन पनि २.६९ अंकले घटेर ४७५.१२ को विन्दुमा समेटिएको छ। आज कारोबार रकम भने बढेर साढे ७ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकाल आजको घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताउँछन्। ‘हिजो बजार बढेको थियो, आज बजार घट्यो’, उनी भन्छन्, ‘यो बजारको विशेषता नै हो, यसले बजार थप मजबुत भइरहेको छ भनेर बुझ्नुपर्छ।’ 

बजारलाई कारोबार रकमले साथ दिइरहेको पनि ढकाल बताउँछन्। ‘बजार घटे पनि आज कारोबार रकम बढेको छ’, उनले भने, ‘यसले बजारमा राम्रै संकेत गर्छ।’

कोरोना संकटका बेला अन्य उद्योगधन्दा प्रभावित भए पनि सेयर बजार प्रभावित नहुने भएकोले लगानीकर्ताहरु खासै डराइहाल्नुपर्ने अवस्था नरहेको ढकालको भनाइ छ। ‘यतिबेला अन्य क्षेत्रका लगानीकर्ता पनि सेयर बजारमा भित्रिएका छन्, यो राम्रो कुरा हो’, उनले भने। 

सेयर बजारलाई देशको राजनीतिक उतारचढावले कुनै असर नगर्ने ढकालले बताए। ‘बजार ४–५ वर्ष ओरालो लागेर अहिले उकालो गतिमा छ’, उनले भने, ‘त्यसैले कोरोनाले असर गर्ला, राजनीतिक प्रभाव पर्ला भनेर आत्तिनुपर्ने अवस्था छैन, बरु राम्रा कम्पनीहरुमा लगानी गरेर उचित प्रतिफल प्राप्त गर्ने अवसर धेरै छन्।’ 

प्राविधिक विश्लेषक रंगनाथ श्रेष्ठले प्राविधिक हिसाबले आजको बजार घटाइलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘मुभिङ एभरेजले खरिद सिग्नल बनाएको छ, कारोबार रकम पनि साथ दिएको छ’, उनले भने, ‘आधारभूत रुपमा सबै सकारात्मक छ।’

श्रेष्ठले आधारभूत विश्लेषण गरेर लगानी गर्दा राम्रो हुने पनि नयाँ तथा साना लगानीकर्ताहरुलाई सुझाव दिए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये २ वटामा मात्र हरियाली छाएको छ भने बाँकी ११ वटामा रातो पोतिएको छ। 

यो दिन लघुवित्त समूह ६९.०३ अंकले बढ्दा लगानी समूह ०.४९ अंकले उकालो लागेको छ।

आज जीवन बीमा समूह सर्वाधिक ९०.९५ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ८०.९६ अंकले घटेको यो दिन बैंकिङ समूहमा ९.७८ अंक, व्यापार समूहमा १५.०८ अंक, होटेल तथा पर्यटन समूहमा १२.४२ अंक, विकास बैंक समूहमा ३३.६८ अंक, जलविद्युत् समूहमा ३२.०९ अंक, वित्त समूहमा ०.०९ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६४.०८ अंक, अन्य समूहमा ३२.७२ अंक र म्युचुअल फन्ड समूहमा ०.०३ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१६ कम्पनीका १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता सेयर ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन अपी पावर कम्पनीको सर्वाधिक ३९ करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको आज ग्रामीण विकास लघुवित्तको २८ करोड ५२ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्टको २७ करोड १५ लाख रुपैयाँ, एनसीसी बैंकको २३ करोड १६ लाख रुपैयाँ, निफ्राको २० करोड १६ लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १५ करोड ३९ लाख रुपैयाँ, नबिल बैंकको १५ करोड १४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १४ करोड ८३ लाख रुपैयाँ र एनटीसीको १३ करोड ६७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ५ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। विशाल बजार कम्पनी, नेशनल माइक्रोफाइनान्स, महिला लघुवित्त, ङादी ग्रुप पावर र सिंगटी हाइड्रोको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको छ।

आज २ वटा कम्पनीको सेयरधनीहरुले सर्वाधिक गुमाए। हिमालय ऊर्जा विकास र हिमालयन पावर पार्टनरको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आएको हो।