काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार झिनो अंकले उकालो लागेको छ। 

बजार आज १.९४ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २६५४.६९ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ अंकले बढेर ४७५.४४ को विन्दुमा पुगेको छ। आज कारोबार रकम ६ अर्ब रुपैयाँ बढीको भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्टले अब बजार बढ्नेमा कुनै शंका नरहेको बताउँछन्। ‘कोभिड नियन्त्रणका लगाइएको निषेधाज्ञाको सुरुआती चरणमा लगानीकर्तामाझ केही शंका–उपशंका देखिएको छ’, उनले भने, ‘त्यसैले बजारले सोचेजस्तो गति लिन सकेको छैन। तर बजार पोहोरकै इतिहास दोहोर्याउनेमा कुनै शंका छैन।’

अब बजार घटे ४०–५० अंक तलसम्म जान सक्ने बिष्टको भनाइ छ। ‘तर सकारात्मक बन्दै गएमा अब डेढ महिनामै ३००० को विन्दुसम्म पुग्न सक्छ’, उनले भने। 

अहिले विश्व सेयर बजार नै सकारात्मक रहेकोले नेपालको बजार पनि माथि जाने सम्भावना प्रबल रहेको बिष्टले बताए। ‘अहिले लगानी गर्ने अन्य क्षेत्र छैन, यस्तो बेला व्यापारीहरुले बैंकमा राखेको पैसा सेयर बजारमा खन्याएका छन्’, उनले भने, ‘साना–ठूला सबै खाले लगानीकर्ता सेयर बजारमा ओइरिएका छन्। बजार सकारात्मक नै छ।’

सक्रिय लगानीकर्ता मनीष चूडाल प्राविधिक हिसाबले बजार बढ्ने नै देखिने बताउँछन्। ‘अहिले कोभिड र राजनीतिक परिस्थितिका कारण केही लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेजस्तो देखिन्छ’, उनले भने, ‘जस कारण बजारले सोचेजस्तो गति लिन सकेको छैन। तर कालान्तरमा बजार बढ्ने नै हो।’

तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुले राम्रो रिपोर्ट सार्वजनिक गरेकाले पनि बजार अब सकारात्मक बन्ने देखिने चूडालको भनाइ छ। यस्तो बेला कारोबार रकमले पनि साथ दिइरहेकोले बजार बढ्नेमा कुनै शंका नरहेको उनले बताए। 

आज नेप्सेमा उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सबैभन्दा बढी १३७.८२ अंकले उकालो लागेको छ। व्यापार समूह ९२.९३ अंकले बढेको आज जलविद्युत् समूहमा ३०.९२ अंक, उत्पादन तथा प्रशोधन समूहमा ६.७२ अंक, म्युचुअल फन्ड समूहमा ०.०२ अंक र लगानी समूहमा ०.२३ अंकको बढोत्तरी भएको छ। 

यो दिन जीवन बीमा समूह सबैभन्दा बढी ६४.२३ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ३६.६१ अंकले घटेको आज बैंकिङ समूहमा ७.६४ अंक, होटेल तथा पर्यटन समूहमा ३५.७७ अंक, विकास बैंक समूहमा ११.२४ अंक, वित्त समूहमा ३.०८ अंक र अन्य समूहमा २०.११ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१३ कम्पनीका १ करोड ३० लाख १५ हजार १८३ कित्ता सेयर ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८११ रुपैयाँमा कारोबार भएका छन्।

आज एनसीसी बैंकको सर्वाधिक २३ करोड ९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको २१ करोड ८३ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन ग्रामीण विकास लघुवित्तको १६ करोड ८९ लाख रुपैयाँ, निफ्राको १६ करोड ४८ लाख रुपैयाँ, अपी पावरको १४ करोड ६७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३७ लाख रुपैयाँ, छिमेक लघुवित्तको १३ करोड ९४ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १३ करोड ६९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ५९ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको १२ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ९ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। समता घरेलु लघुवित्त र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत, रुरु जलविद्युत, सिंगटी हाइड्रो, युनाइटेड मोदी हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन युनिभर्सल पावरको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

आज चन्द्रागिरी हिल्स, एनएलजी इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको सेयरभाउमा २ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।