काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ।

हिजो १६१ अंकले बढेको बजारमा आज ४४.१८ अंकको करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २९३६.६१ अंकमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०५ अंकले घटेर ५४८.३६ को विन्दुमा ओर्लेको छ। कारोबार रकम पनि घटेर साढे ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला बजार आज घट्नुको मुख्य कारण लगानीकर्ताहरु अन्यौलमा पर्नु नै रहेको बताउँछन्। ‘सेयर धितो कर्जा सीमाका विषयमा भइरहेका गतिविधि र आइरहेका समाचारले लगानीकर्ताहरु अलमलमा परेको देखिन्छ’, उनले भने।

आज कारोबार र भोलुम घट्नुमा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको देखिने पनि बास्तोलाले बताए। ‘अहिलेको अवस्थामा आत्तिहाल्नुपर्ने देखिन्न, त्यही भएर परिपक्व लगानीकर्ताहरुले सेयर खरिद गरिरहेकोजस्तो देखिन्छ’, उनले भने।

आजको विन्दुमा बजार धानियो भने आगामी दिनमा बजारले नयाँ उचाइ लिन सक्ने बास्तोलाको अनुमान छ।

सक्रिय लगानीकर्ता प्रकाश रजौरे नेपालको सेयर बजारमा राज्यका तर्फबाट सकारात्मक दृष्टि नहुँदा विगत केही दिनदेखि बजारमा अन्यौलता छाइरहेको बताउँछन्। सेयर बजारको बढी नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड रहेको उल्लेख गर्दै रजौरेले बजारलाई राष्ट्र बैंकले विभिन्न सर्कुलर जारी गर्दै नियन्त्रण गर्न खोजेको भन्दै आपत्ति प्रकट गरे। ‘सिंगल अब्लिगेटर लिमिट सच्चाउनुपर्छ’, उनले भने, ‘यसले साना लगानीकर्ता पनि मारमा पर्छन्।’

बजार समग्रमा स्थिर रहेको भन्दै रजौरेलले अहिले नै डराइहाल्नुपर्ने अवस्था नरहेको बताए। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये २ वटामा मात्र हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ। 

यो दिन अन्य समूह १.०१ प्रतिशतले उकालो लाग्दा म्युचुअल फन्ड समूह ०.५६ प्रतिशतले बढेको छ। 

आज होटेल तथा पर्यटन समूह सर्वाधिक २.९९ प्रतिशतले ओरालो लागेको छ। लघुवित्त समूह २.५८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.६८ प्रतिशत, व्यापार समूहमा १.५६ प्रतिशत, विकास बैंक समूहमा १.२९ प्रतिशत, जलविद्युत विद्युत समूहमा १.५२ प्रतिशत, वित्त समूहमा १.६४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१३ प्रतिशत, जीवन बीमा समूहमा १.६ प्रतिशत र लगानी समूहमा ०.४२ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१.४३ रुपैयाँमा किनबेच भएको छ। 

यो दिन युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ६१ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ३८ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १९ करोड १२ लाख रुपैयाँ, ज्योति विकास बैंकको १७ करोड ५७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १६ करोड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ९१ लाख रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ७४ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ७८ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १२ करोड ६२ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन आरएमडीसी लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा र रुरु जलविद्युतको सेयरमूल्य ७ प्रतिशतले ओरालो लागेको छ।