काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजारमा उछाल आएको छ।

बजार आज ८७.६३ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६७२.२५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक सेन्सेटिभ इन्डेक्स पनि १३.६१ अंकले बढेर ५०४.५७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आज बजार बढाइलाई सकारात्मक र स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। ‘किनकि आज कारोबार र इन्डेक्स दुवै बढेको छ’, उनले भने।

ढकालले अब बजार बढ्ने केही आधारहरु पनि प्रस्तुत गरेका छन्। लाभांश सिजन, पहिलो त्रैमासिक रिपोर्ट, बजारमा सरकारी खर्चको पैसा पनि बैंकिङ च्यानलमा आउने थालेको र तरलता सहज हुने आदि कारणले बजार अब माथि नै जाने ढकालको भनाइ छ। 

असोजमा विभिन्न कारणले बजार प्रभावित भएको पनि ढकालले बताए। ऋण नवीकरण, ऋणको ब्याज तिर्नुपर्ने र चाडपर्वको खर्च जोहो गर्नुपर्ने आदि कारणले असोजमा बजार प्रभावित भएको उनको तर्क छ।

अहिले बजार प्रभावित हुनुको मुख्य कारण मानिएको सीडी रेसियोका विषयमा राष्ट्र बैंकले केही न केही परिमार्जन गर्न सक्ने सम्भावना रहेको पनि ढकालले बताए। 

अर्थशास्त्री मुक्तिबहादुर खत्री पनि आजको बजार बढाइलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन्। ‘बजार धेरै घटेकोले आज बढेको हो, यो बजार बढेर २८०० को विन्दुसम्म पुग्न सक्छ’, उनले भने। 

चाडपर्वमा गैरबैंकिङ च्यानलमा रेमिट्यान्स भित्रिएको हुन सक्ने र सोही पैसा सेयर बजारमा पनि आउन सक्ने खत्रीको तर्क । 

अब बजार थोरै तलमाथि गर्दै अगाडि बढ्न सक्ने खत्रीले बताए। ‘तर पहिलाको रेकर्ड ब्रेक गर्नका लागि कुनै सकारात्मक समाचार नै आवश्यक हुन्छ’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन वित्त समूह सर्वाधिक ७.८१ प्रतिशतले उकालो लागेको छ। जलविद्युत समूह ७.५७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.०७ प्रतिशत, व्यापार समूहमा ०.५३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.७२ प्रतिशत, विकास बैंक समूहमा ६.५ प्रतिशत, निर्जीवन बीमा समूहमा ४.०६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.३३ प्रतिशत, अन्य समूहमा २.६३ प्रतिशत, लघुवित्त समूहमा २.३६ प्रतिशत, जीवन बीमा समूहमा ३.७३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.०९ प्रतिशत र लगानी समूहमा ४.२२ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज महालक्ष्मी विकास बैंकको सर्वाधिक १६ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

अपी पावरको १३ करोड ४५ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन सिद्धार्थ बैंकको १३ करोड १३ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २६ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ६५ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको १० करोड ९८ लाख रुपैयाँ, नेपाल बैंकको १० करोड ५४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ५१ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको १० करोड ३१ लाख रुपैयाँ र कामना सेवा विकास बैंकको ९ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

धेरै कमाउने र धेरै गुमाउने

आज २९ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन गोर्खाज फाइनान्स, बेस्ट फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, मल्टीपर्पस फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, अरुण काबेली पावर, हिमालयन पावर पाटर्नर, नेपाल हाइड्रो, राधी जलविद्युत, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र ग्रिनलाइफ हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा लिबर्टी इनर्जी, अरुण भ्याली हाइड्रोपावर, युनाइटेड इदी मर्दी, आँखुखोला जलविद्युत, बरुण हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स, माउन्टेन इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, माउन्टेन हाइड्रो र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। 

आज लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, शाइन विकास बैंक र कामना सेवा विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। 

यो दिन मेरो माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरमूल्यमा ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।