काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पुनः गिरावट आएको छ। 

बजार आज ४९.०४ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २५८४.६१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ९.४६ अंकले घटेर ४८७.२७ को विन्दुमा ओर्लेको छ। कारोबार रकम साढे ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

बजार जानकार सरोज भट्टराई बजार बढ्नलाई केही आधार चाहिने भएकोले त्यस्तो नदेखिएको बताउँछन्। ‘अर्थतन्त्र सकारात्मक छैन, ब्याजदरको ग्राफ उकालो लागिरहेको देखिन्छ’, उनले भने, ‘ब्याजदर र सेयर बजारको सम्बन्ध जहिले पनि उल्टो हुन्छ। यसका कारण बजारमा अहिले केही दबाब दिएको छ।’

‘प्राविधिक रुपमा पनि २६०० को विन्दुमा दरो सपोर्ट थियो, त्यो भत्किएको छ’, भट्टराईले भने, ‘सोही कारण केही ट्रेडरहरुले स्टप लस गरेको देखिन्छ।’

बजार मनोविज्ञानले नै चल्ने उल्लेख गर्दै भट्टराईले भने, ‘पैसा हुनेहरु अहिले बजार पसेका छैनन् किनकि डरको मनोविज्ञान छ। जुन आजको बजारले देखाएको छ।’

कारोबार र भोलुम घट्दै जानुले पनि बजार फर्किन केही समय लाग्ने देखिएको भट्टराई बताउँछन्।

सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहँदा पनि बजार सकारात्मक बन्न नसक्नुले लगानीकर्ताहरु निराश बनेको अवस्था रहेको भट्टराईको भनाइ छ। ‘त्यसैले अहिले लगानीकर्ता कमाउनेभन्दा पनि बचेको सम्पत्ति जोगाउनतिर लागेजस्तो देखिन्छ। सोही कारणले पनि बजार फर्किन नसकेको हो’, उनले भने।

पछिल्लो समय सेयर बजारमा आइरहेको गिरावटमा सरकारको पनि कमजोरी रहेको भट्टराई आरोप लगाउँछन्। ‘पुँजीगत खर्च बढाउनभन्दा पनि सरकारले पैसा बाँड्नतिर लागेको छ’, उनले भने, ‘यदि सरकारले पुँजीगत खर्च बढाउने हो भने तरलता सहज हुँदै जान्छ र सेयर बजार पनि सकारात्मक बन्ने आशा गर्न सकिन्छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन विकास बैंक समूह सर्वाधिक ३.८२ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह ३.७६ प्रतिशतले घटेको आज बैंकिङ समूहमा १.०१ प्रतिशत, व्यापार समूहमा १.२९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.९७ प्रतिशत, जलविद्युत समूहमा २.२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.४९ प्रतिशत, अन्य समूहमा ३.६४ प्रतिशत, लघुवित्त समूहमा १.६६ प्रतिशत, जीवन बीमा समूहमा १.६५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.२८ प्रतिशत र लगानी समूहमा १.७१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका कुल ७९ लाख ३२ हजार ७३१ कित्ता सेयर ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १२६.०२ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन महालक्ष्मी विकास बैंक सर्वाधिक १२ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ११ करोड ७९ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेसनल हाइड्रोको १० करोड ९७ लाख रुपैयाँ, एनटीसीको ९ करोड ८६ लाख रुपैयाँ, नबिल बैंकको ९ करोड १५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ९ करोड ७ लाख रुपैयाँ, अपी पावरको ८ करोड ५४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड २३ लाख रुपैयाँ, महिला लघुवित्तको ७ करोड ७० लाख रुपैयाँ र एचआईडीसीएलको ६ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सामलिङ्ग पावर र न्यादी हाइड्रोपावरको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। यो दिन महिला लघुवित्त सेयरभाउ पनि ८.५ प्रतिशतले उकालो लागेको छ।

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंक र मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीको सेयरभाउ ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।